• १६ पुस २०८१, मङ्गलबार

नयाँ वर्षको स्वागतमा सडकमै महोत्सव

blog

फडिन्द्र अधिकारी

लेखनाथ, पुस १४ गते । पर्यटन राजधानी पोखरामा शनिबारबाट सडक महोत्सव सुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरा सबै मौसमका लागि सुहाउँदो गन्तव्य भएको सन्देश दिन फेवाताल किनारमा महोत्सव आयोजना गरिएको हो । 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले आयोजना गर्ने २६ औं संस्करणको सडक महोत्सव सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । पोखराको पर्यटनलाई चलायमान बनाउन यस खालका मेला, महोत्सवहरु आयोजना गरिरहनुपर्ने उहाँको भनाइ छ । “ठूला पूर्वाधारहरु बनाउने काम सरकारको हो । सरकारले बनाउँछ,” उहाँले भन्नुभयो, “गण्डकीमा धेरै प्रतियोगिता, उत्सव, महोत्सवहरु गर्नुस् । शिक्षा, स्वास्थ्य, खेलकुदको हब बनाउनुहोस् । पर्यटन राजधानी आफैं बन्दै जान्छ ।” 

तालछेउको करिब तीन किलोमिटर सडकमा महोत्सव हुँदैछ । पोखराको पर्यटनसँग जोडिएर केही महत्वपूर्ण काम भइरहेको र ती काम सकिएपछि यहाँको पर्यटनले गति लिने उहाँको भनाइ छ । “मुग्लिन – पोखरा बाटो बन्दैछ । सिद्धार्थ राजमार्गलाई पनि स्तरोन्नति गर्नुछ,” सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भन्नुभयो, “चितवन, लुम्बिनी र काठमाडौंबाट एक्सप्रेस वे जोडिए यहाँ पर्यटक आएनन् भन्नु पर्ने अवस्था रहँदैन ।” 

मध्यपहाडी लोकमार्ग पनि पोखरामा जोडिएको औंल्याउँदै उहाँले त्यसलाई उपयोग गरी फाइदा लिन उहाँले आग्रह गर्नुभयो । पोखरामा राम्रो क्रिकेट मैदान बनाउन सके भारत र पाकिस्तानका खेलाडी आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु यहाँ हुन सक्ने मन्त्री गुरुङको भनाइ छ । 

उहाँले चीनसँग हालै भएको बिआरआई सम्झौताबाट पोखरासहित गण्डकी प्रदेशले ठूलो लाभ लिन सक्ने औंल्याउनुभयो । “कोरला नाकामा आवश्यक पूर्वाधार बनाउन चीनले सहयोग गर्ने कुरा भएको छ । पोखरा ट्रान्जिट हुन सक्छ । कोराला नजिकै ‘इकोनोमिक जोन’ बनाउने पनि भनेको छ,” उहाँले थप्नुभयो, “भारत र चीन बिचको व्यापारको नाका यसलाई बनाउन सकिए सबैभन्दा ठूलो फाइदा पोखरालाई हुन्छ ।” 

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखराबाट चाँडै अन्तर्राष्ट्रिय उडान गर्न पहल लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गण्डकीकी कृषि मन्त्री पद्म जिसी श्रेष्ठले गण्डकी हरेक दृष्टिले सम्भावना भएको क्षेत्र रहेको औंल्याउँदै ती सम्भावनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले केही व्यापारिक प्रतिष्ठान र कार्यालयहरुले फेवातालमा फोहोर फाल्ने गरेको औंल्याउँदै जिम्मेवारी बोध गर्न आग्रह गर्नुभयो । अङ्ग्रेजी नयाँ वर्षको छेकोमा हुने दर्जन उत्सव, महोत्सवले पोखरालाई पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उहाँले उल्लेख गर्नुभयो । 

रेवानका केन्द्रीय अध्यक्ष संघर्ष विष्टले कृषि, पर्यटन र जलविद्युतबाट नेपालको समृद्धि सम्भव हुने जनाउनुभयो । “यी क्षेत्रको प्रवद्र्धन गर्न सके स्वदेशमै रोजगारी सिर्जना र नयाँ नेपाल सम्भव छ,” उहाँले भन्नुभयो । कार्यक्रम रेवान पोखरा अध्यक्ष विश्व पौडेलको अध्यक्षतामा भएको थियो । 

पोखरामा शनिबारबाटै ‘ड्रागन बोट रेस’ पनि सुरुआत भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूताबास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० टिमको सहभागिता छ । अहिले पोखराकै पामेमा अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल जारी छ ।

नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटकलाई होटलहरूले २० प्रतिशत छुट दिने निर्णय गरेका छन् । पोखराको लेकसाइड क्षेत्रमा मात्र सात सयभन्दा बढी होटल छन् । 

Author

पोखरा सडक महोत्सवको शनिबार आयोजित उद्घाटन समारोह ।