सिराज खान
नेपालगन्ज, पुस १२ गते । आफ्ना बालबालिकाको शैक्षिक अवस्था थाहा पाएर त्यसमा सुधार ल्याई शिक्षालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने जनाउँदै बाँकेको कोहलपुर नगरपालिकाको एक विद्यालयले नयाँ अभ्यासको शुरु गरेको छ ।
सो अभ्यासअन्तर्गत सो विद्यालयमा ‘कक्षाकोठामा अभिभावक कार्यक्रम’ सञ्चालन गरिएको हो ।
कोहलपुर –११ टाउन प्लानिङमा रहेको सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित कोहलपुर माध्यामिक विद्यालयले ‘कक्षा कोठामा अभिभावक कार्यक्रम’ सञ्चालन गरेर अभिभावकलाई बालबालिकाको शैक्षिकस्तर बारेमा जानकारी दिन र शैक्षिक गुणस्तर बृद्धि गर्न सुझाव सल्लाह लिन सुरु गरिएको कोहलपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक शङ्कर न्यौपानेले बताउनुभयो ।
उहाँले बालबालिकाको सही शैक्षिक अवस्थाबारे प्रत्यक्ष जानकारी गराउन अभिभावकलाई कक्षासम्म ल्याउन सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न त्रिकोणात्मक सम्बन्धको आवश्यकता रहेकाले सो कार्यक्रम सञ्चालन गर्नुपरेको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।
सामुदायिक विद्यालयमा अभिभावकहरुको उपस्थिति नहुने गरेकाले उहाँहरुले आफ्नो छोराछोरीको पढाइको बारेमा जानकारी नपाउने हुँदा जानकारी दिने उद्देश्यले अभिभावकलाई अनिवार्य रुपमा विद्यालयमा आउनुपर्ने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।
बालबालिकाको शैक्षिक गुणस्तर र अभिभावकको सक्रियताका लागि यो कार्यक्रम राम्रो रहेको अधिकांश अभिभावकको प्रतिक्रिया छ । सो कार्यक्रमको शुरुवात कक्षा ७ मा अध्ययनरत बालबालिकाको कक्षाकोठाबाट सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत अभिभावकले बालबालिकाको पठनपाठनबारे प्रत्यक्ष थाहा पाउने, उनीहरुले के गरिरहेका छन् ? कसरी अध्ययन अध्यापन गरिरहेका छन् ? भन्ने विषयमा पनि जानकारी पाउने र कुनै कुरामा चित्त नबुझेमा विद्यालयलाई सुझाव दिनेछन् ।
कोहलपुर माविका अभिभावक धनराज योगीले यो कार्यक्रम निकै प्रभावकारी र राम्रो रहेको जनाउँदै यसले बालबालिकालाई नियमित बनाउनुका साथै विद्यालयको कक्षा कोठाभित्रको सबै गतिविधि अभिभावकलाई जानकारी दिने बताउनुभयो ।
विद्यार्थीका अभिभावकलाई विद्यालयमा उपस्थित गराई पढाइ बारेमा जानकारी लिने र त्यसलाई सुधार गर्ने अवसर मिल्ने भएकाले यो कार्यक्रम लाभदायी हुने अधिकांश अभिभावकको भनाइ छ ।