चित्र मिजार
सिन्धुपाल्चोक, पुस १२ गते । सिन्धुपाल्चोकका ठुला, मझौला नदीमा सञ्चालित क्रसर तथा वासिङ उद्योगहरूले पूर्ण मापदण्डमा सञ्चालन हुन जिल्ला समन्वय समितिले निर्देशन दिएको छ । नदीजन्य तथा खनिजजन्य पदार्थ उत्खनन् सङ्कलन र बिक्री वितरणसम्बन्धी अनुगमन तथा समन्वय समितिले उक्त निर्देशन दिएको हो ।
क्रसर र वासिङ उद्योगहरूले वातावरण अध्ययन प्रतिवेदन, दर्ता नवीकरण, कर चुक्ता, स्टक प्रमाणीत, बिल बिजक जस्ता कागजजात चुस्त, दुरुस्त राख्न निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँकानुसार सिन्धुपाल्चोकका क्रसर तथा वासिङ उद्योगी व्यवसायीलाई समन्वय समितिको कार्यालयमा बैठकमा सहभागी गराई व्यवसाय सञ्चालन गर्दा मापदण्डको पूर्ण पालन गर्न सुझाइएको छ ।
क्रसर र वासिङ उद्योगहरुले स्थानीय तहसँग समन्वय गरी समयमा नै स्टक प्रमाणीत गर्नुपर्ने र सो को जानकारी जिससमा गराउनु पर्ने, ढुङ्गा गिट्टी, बालुवाको उत्खनन् तथा निकासी दररेट अध्ययन विश्लेषण गरी १५ दिनभित्र एकरूपता ल्याइनु पर्ने, त्यसका लागि पूर्वाधार विकास कार्यालयका प्रमुख, जिल्ला क्रसर व्यवसायी सङ्घका प्रतिनिधि, सम्बन्धित पालिकाको इन्जिनियर, जिससको इन्जिनियरको एक उपसमिति गठन गरिएको प्रमुख श्रेष्ठले बताउनुभएको छ ।
नदीजन्य तथा खनिजजन्य पदार्थ ढुवानी गर्ने सवारीसाधानको गति सिमा, अनुगमन तथा चेकजाँच जिल्ला प्रहरीले कडाईका साथ गर्ने, ढुवानी सामग्री छोप्ने र ओभरलोडसम्बन्धी मापदण्ड पालना गर्ने, स्वीकृत वातावरणीय प्रतिवेदनमा उल्लेख भएका वातावरणीय प्रभाव न्यूनीकरणका उपायहरूको पूर्ण पालना गर्ने, क्रसर तथा वासिङहरूले समयमा नै लेखा परीक्षण र कर चुक्ता गर्न बैठकमा निर्देशन दिइएको जिसस प्रमुख श्रेष्ठले बताउनुभएको छ ।