चितवन, पुस १२ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आवश्यक ऐनहरू बन्ने प्रक्रियामा रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनको समन्वयमा स्थानीय तहका प्रमुखसँग बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा उहाँले आवश्यक ऐन निर्माणको क्रममा रहेको जानकारी दिनुभयो । “स्थानीय तहका प्रमुखसँगको अन्तरक्रियापछि मात्र ऐन निर्माण गर्नु पर्दछ । त्यही अनुसार स्थानीय तहका प्रमुखसँग छलफल र सुझाव सङ्कलन कार्य थालनी गरिएको छ,” उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीयले काम गर्दा परेका समस्या, शिक्षा ऐन, अन्य क्षेत्र, कर्मचारी सेवा ऐन, प्रदेश, स्थानीय कर्मचारीसम्बन्धी व्यवस्थामा देखिएका समस्याको विषयमा छलफल गरी ऐन निर्माण गर्नु पर्दछ । विद्यमान ऐनमा देखिएका जटिलतामा संशोधनलगायतको काम गर्नुपर्ने छ । सशोधन, निर्माणलगायतको काम गर्नुपर्ने रहेको छ ।” राष्ट्रिय सभाको बैठकमा कोरम नपुग्ने समस्याका कारण बैठक बसेर काम गर्न नसक्ने जटिलताले काम गर्न समस्या भएको भन्दै उहाँले भन्नुभयो, “बैठकमा सरकारका मन्त्रीको सहभागिबिना बैठक बस्नुपर्ने हुन्छ । बैठक बस्दा मन्त्रीको समय नपाएर बैठक बस्न नसक्ने समस्या भएका कारण काम गर्नलाई कठिनाइ भएको छ ।”
राष्ट्रिय गौरवको आयोजनामा बजेट नपरेको सन्दर्भमा पनि छलफल गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । “मन्त्रीलाई लाग्दैमा राष्ट्रिय गौरवका आयोजना नाम दिएको छ । साँच्चै गौरवको आयोजना हो, होइन भन्ने विषयमा छलफलपछि मात्र नाम दिनु पर्दछ,” उहाँले भन्नुभयो । कार्यक्रममा उहाँले राजनीतिक उपलब्धि भए पनि जनताको चाहना अनुसारको छिटो प्रगति हुन नसकेका कारण सन्तुष्टिको अवस्था नभएको उहाँको भनाइ छ ।