गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुःखी आत्मा’ को जापानमा वितरण अधिकार बिक्री भएको छ । जापान प्रदर्शनका लागि युएनए इन्टरटेनमेन्टले राइट्स खरिद गरेको हो । दीपेन्द्रको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।
नेपालका साथै जापानमा पनि फागुन २ गते चलचित्र प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । क्लक वर्क क्रियसनको ब्यानरमा बनेको चलचित्रको निर्माता हिमाल कडरिया हुनुहुन्छ । सुदीप ढकाल कार्यकारी निर्माता रहनुभएको चलचित्रलाई आलोक शुक्लाले खिच्नुभएको हो भने निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।