सर्लाही समाचारदाता
सर्लाही, पुस १२ गते । सर्लाहीका किसानले उत्पादन गरेको स्थानीय (लोकल) जातको गोलभेँडा प्रशस्त मात्रामा बजार भित्रिन थालेको छ । यस वर्ष गत असोजको वर्षाले गोलभेँडाको बेर्ना सखाप पारेकाले पुनः बेर्ना तयार पारेर बोट सार्नुपर्दा ढिलो गरी उत्पादन भएको किसानले बताएका छन् ।
स्थानीय गोलभेँडा बजारमा पर्याप्त भित्रिन थालेसँगै भारतीय गोलभेँडाको आयात घट्न थालेको छ । तुलनात्मक रूपमा स्वादिलो हुने स्थानीय जातको गोलभेँडाले केही दिनदेखि भारतीय गोलभेँडा तत्काललाई यहाँका बजारबाट विस्थापित नै गरेको छ । चारैतिर स्थानीय जातको गोलभेँडा तयार भएर बजारमा ठुलो परिमाणमा भित्रन थालेसँगै किसानले मूल्य भने कम पाउन थालेका छन् ।
यस वर्ष किसानले २५ किलो अट्ने एक क्रट गोलभेँडा तीन हजार रुपियाँसम्ममा बिक्री गरेका थिए । अहिले प्रशस्त फल्न थालेपछि क्रेटको एक हजार दुई सय रुपियाँदेखि एक हजार पाँच सय रुपियाँसम्ममा बिक्री हुन थालेको छ ।
मधेश प्रदेशको प्रमुख तरकारी बजारका रूपमा रहेको लालबन्दी थोक तरकारी बजारमा गोलभेँडा प्रतिकिलो ४५ देखि ५० रुपियाँसम्म बिक्री गर्न पाउँदा किसान खुसी देखिन्छन् । भण्डारण गरेर राख्ने चिस्यान केन्द्रको अभावमा गोलभेँडा खेती गर्ने किसानलाई गोलभेँडा पाक्नासाथ बजारमा जति नै मूल्य भए पनि बेचिहाल्नुपर्ने बाध्यता छ ।
अघिल्ला वर्षको तुलनामा यो वर्ष गोलभेँडाले राम्रो मूल्य पाइरहेको लालबन्दी नगरपालिका–११, हिरापुरका किसान सुमनलाल घिसिङले बताउनुभयो । बोट हुर्काउने बेला वर्षाले निराश पारे पनि अहिले राम्रो भाउ पाउँदा खुसी लागेको घिसिङको भनाइ छ । जिल्लामा उत्तरी भेगको लालबन्दी, हिरापुर, पत्थरकोट, जियाजोर, परवानीपुर, घारीबथान, रानीगन्ज, सासापुर, नवलपुर, डाबरी, घुर्कौलीलगायतका भेगमा व्यावसायिक रूपमा गोलभेँडा खेती हुने गरेको छ । यस भेगका किसानले बजारमा प्रशस्त गोलभेँडा बिक्री गर्न ल्याउन थालेसँगै लालबन्दी थोक तरकारी बजारका व्यापारीले अन्यत्र सहरमा पठाउने गोलभेँडाको परिमाण बढाउन थालेका छन् ।
लालबन्दी थोक तरकारी बजारका अध्यक्षसमेत रहेका व्यापारी तोरनबहादुर मगरले यहाँबाट दैनिक ६० टन गोलभेँडा निकासी हुन थालेको जानकारी दिनुभयो । किसानले लालबन्दी बजारमा ल्याएर बेच्ने गोलभेँडा व्यापारीले मलङ्गवा, जनकपुर, वीरगन्ज, सिन्धुलीसहित सङ्घीय राजधानी काठमाडौँसम्म पु¥याउने गरेका छन् ।
पछिल्लो समय गोलभेँडा फल्ने सिजनमा पूर्वपश्चिम राजमार्गस्थित हरिवनको तीनघरे लच्कामा अस्थायी बजार राखेर व्यापारीले त्यस भेगका किसानले फलाएको गोलभेँडा खरिद गर्ने गरेका छन् ।