अविनाश चौधरी
धनगढी, पुस ११ गते । सुनचाँदीको विभिन्न गरगहनासहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र महोन्द्रनगर, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरीको संयुक्त टोलीले बुधबार टीकापुर नगरपालिका–१ गणेशपुर शिविरको एक घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाजुराको बुढीगङ्गा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैसी रहेका छन् । गणेशपुर शिविरकी २८ वर्षीया धर्मा जैसीको घरबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूको साथबाट ५० ग्रामको चाँदीको सिक्का एक थान, हीराका जस्तो देखिने औंठी दुई थान, सुनको बेरुवा औंठी एक थान, सुनको सिक्री एक थान, पानको पातजस्तो देखिने सुनको सिक्री एक थान बरामद गरिएको छ । यसैगरी, बरामद अन्य गहनामा हीरासहितको सुनको झुम्का एक जोर, सुनको औंठी एक थान, खुट्टाको औंलामा लगाउने सुनको बिछिया दुई थान, कालोपोते भएको सुनको नागिनी माला एक थान र सुनको चारकुने टप एक जोर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गरगहनासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।