• १२ पुस २०८१, शुक्रबार

अन्नपूर्णको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

blog

प्रयोगविहीन भएको पालिकास्तरीय अस्पताल भवन । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस ११ गते । करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको पालिकास्तीय अस्पताल भवन मेडिकल उपकरण, स्वास्थ्य जनशक्ति र अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा दुई वर्षदेखि प्रयोगविहीन बनेको हो । 

"भवन मात्र ठडिएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने अन्य पूर्वाधारको अभाव छ । मेडिकल उपकरण खरिद गर्ने बजेट छैन," गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, "भवन मात्र बनाएर अस्पताल सञ्चालन गर्न सकिँदैन । अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार र जनशक्ति माग गर्न तीन पटक सम्म सङ्घीय सरकारसँग पुग्यौं हाम्रो कुराको सुनुवाइ भएन । हजुरको मात्र होइन देशभर यस्तै समस्या छ भनेर जवाफ पायौं । अस्पताल सञ्चालनमा ल्याउन नसक्दा अहिले भवन अलपत्र जस्तै बनेको छ ।"

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार २०७९ फागुनमा अस्पताल भवन निर्माण सम्पन्न भएको थियो । भवन बनेको लामो समय हुँदा पनि अस्पताल सञ्चालनमा नआउँदा पालिकावासीहरु आधारभूत तहको स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।  

पाँच करोड १२ लाख ६० हजार ६ सय ५२ रुपियाँ लागतमा अपाङ्गमैत्री पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको थियो । निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा छन् । भवनको माथिल्लो तल्लाका तीनवटा कोठामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण गरिएको छ । 

भवन निर्माणका लागि २०७८ वैशाख १७ गते रविना–अमित जेभीले  गाउँपालिकासँग सम्झौता गरी भवन निर्माण गरेको थियो । भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई केही रकम भुक्तानी गर्न बाँकी रहेको पालिकाले जनाएको छ ।

आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गरी अस्पताल सञ्चालनका लागि गाउँपालिकाले सङ्घीय सरकारसँग माग गरेको पालिका अध्यक्ष पुनले बताउनुभयो । दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य एक करोड रुपियाँभन्दा बढी छ । 

अस्पताल भवन निर्माण लागि नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । अस्पताल भवन निर्माणका लागि निशुल्क जग्गा दिएका जग्गादाताहरु अस्पताल भवन अलपत्र पर्दा दुःखी भएका छन् ।