• ११ पुस २०८१, बिहिबार

धरणीधर विवाह महोत्सवको तयारी

blog

 वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, पुस ११ गते । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व बोकेको धर्तीकै पहिलो तीर्थ मानिने वराहक्षेत्रमा धरणीधर विवाह महोत्सवको तयारी थालिएको छ । धनुर्मास उत्सव अन्तर्गत श्रीधरणीधर विवाह महोत्वस गर्न लागिएको हो । स्थानीय गुरु योगेश भण्डारीको सत्सङ्कल्पमा विवाह महोत्वसवको तयारी थालिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । 

भगवान् वराह र धरणीको बिचमा विवाह भएको खुसियालीमा स्मरण गर्दै धरणीधर विवाह उत्सव मनाउने तयारी सुरु गरिएको छ । यो उत्सव धनुर्मास उत्सव अन्तर्गत मनाइने गरिएको छ । विवाह उत्सवमा भगवान्को विशेष प्रकारको पूजा, आराधना, होम, पाठ, सत्सङ्ग र शोभायात्रा गरेर मनाइने तयारी थालिएको गुरु भण्डारीले बताउनुभयो । विवाह महोत्सव अन्तर्गत पुस २१ गते पत्राचार तथा माला उत्सवमा गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने कार्य सम्पन्न गरिने छ । 

आगामी २२ गते धरणी मातालाई वराह मन्दिर पु-याएर १००८ घडा जलद्वारा भगवान्को मङ्गलस्नान गरिने छ । सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर दान, जुवा खेलाउने कार्य विवाह उत्सवका लागि बन्नुभएको धर्मपिता माताद्वारा गरिने छ । सबै विधिद्वारा विवाह उत्सव शोभायात्रा गरेर यज्ञ समापन र प्रसाद वितरण गरिने जनाइएको छ । 

भगवान् विष्णुले श्रीवराहको अवतार धारण गरेर धरणीलाई शिरमा धारण गर्नुभएकाले उहाँलाई धरणीधर भनिएको गुरु योगेश भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धरणी भनेको पृथ्वी (भूदेवी) र धरको अर्थ धारणा गर्नु (बोक्नु) भन्ने बुझिन्छ । गुरु भण्डारीका अनुसार उनै धरणीधर वराह भगवान् र धरणीको विवाह मोहत्सव गरिने छ । वराह भगवान् नारायण र धरणी महालक्ष्मीबिच विवाह महोत्सव गरिने भएको गुरु योगेश भण्डारी बताउनुहुन्छ । लीलाविग्रहमा पनि लक्ष्मीजीका साथमा नारायण, सीताजीका साथमा श्रीराम, राधाजीका साथमा श्रीकृष्ण, पद्मावतीका साथमा श्रीवैङ्कटेस, रङ्गनायकीका साथमा श्रीरङ्गनाथ भगवान् साथमा भए झै धरणीका साथमा सदासर्वदा भगवान् वराह र धरणी पतिपत्नी हुनुहुन्छ ।  

तीन हजार वर्षअघिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर हिन्दु धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा वराहक्षेत्र मन्दिर रहेको छ । सप्तकोशी र कोका नदीको सङ्गमबाट करिब ३०० फिटमाथि मूल मन्दिर रहेको छ । वराह मन्दिर, गुरु वराह र कोकाहा वराहको मूर्ति तीन हजार वर्षभन्दा पुराना रहेका छन् । वराहक्षेत्र मन्दिरमा वराह मन्दिर, पाञ्चायन, लक्ष्मी, नागेश्वर, गुरुवराह, सूर्यवराह, कोकावराह, बद्री मुक्तेश्वर र इन्द्रवराहका मूर्ति रहेका छन् । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् वराहले जङ्गली जनावर बदेलका रूप धारण गरी संसारभरका प्राणीको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दुशास्त्रमा उल्लेख रहेको छ । 

पौराणिक कथा अनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएकोे छ । विष्णु भगवान्को सातौँ अवतारका रूपमा वराह अवतार भई डुब्न लागेको पृथ्वीलाई जोगाएको वराह पुराणमा उल्लेख गरिएको छ ।