• ९ पुस २०८१, मङ्गलबार

चीन जोड्ने सडक निर्माणमा बजेट अभाव

blog

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दा सदरमुकाम गमगढीबाट दैनिक उपभोग्य सामग्री बोकेर ल्याउँदै ।

हरिकृष्ण ऐडी 

मुगु, पुस ९ गते । चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगरिदिँदा ट्र्याक खोल्न ढिलाइ भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारदेखि चीनको सिमानासम्म ९१ किलोमिटर सडक बजेटको अभावका कारण काम सुस्त छ । 

गमगढी–नाकच्यालाग्ना सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा निर्माण भइरहेको छ । सडक  डिभिजन कार्यालय जुम्ला अन्तर्गतका कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार गमगढी–नाकच्यालाग्ना सडकको गमगढी नाकच्यालाग्ना सडक परियोजना कार्यालयले २०७२ सालदेखि ८१  सालसम्म अनुमानित ३८ करोड रकमले करिब २२ किलोमिटर ट्र्याक खोलेको छ । उहाँले चरम बजेटको अभावले गर्दा यो सडकको कामले गति नपाएको बताउनुभयो ।

सडक  विस्तार गर्न र  सडकको  स्तरोन्नति गर्न चालु आर्थिक वर्ष २०८१/८२ का लागि एक करोड रकम विनियोजन भएको छ । छायाल र माँग्रीमा पर्ने १.२ किलोमिटर चट्टानी पहरो ब्लास्टिङ गर्न र ग्राभेलका साथ साइडमा नाला निर्माणका लागि चालु आर्थिक बजेटमा उक्त विनियोजित रकममा काम गर्न नसिकिने भएकाले थप बजेट व्यवस्थापनका लागि सडक विभागसँग पत्राचार गरेको कार्यालय प्रमुख चौधरीले बताउनुभयो ।

सडक निर्माण व्यवसायी कन्स्ट्रक्सन  थोदुङ्क्याराभान जेभीले मुगुमकार्मारोङ गाउँपालिका छायालको गाँठ्याभिरसम्म सडक निर्माण गरेको छ । समयमै गमगढी– नाकच्यालाग्ना सडक निर्माण हुन नसक्दा कर्णालीवासीको चीनसँग व्यापार गर्ने सपना अधुरै रहेको स्थानीय गुरुक्षेग्मी लामाले बताउनुभयो । नेपालका उत्तरी नाकासँग जोडिएका नाकामध्ये सबैभन्दा छोटो नाकाका रूपमा रहेको यस नाकच्यालाग्ना नाका सडक सञ्जालमा जोडिएको खण्डमा मुगु मात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । 

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अुसार मुगुमकार्मारोङ गाउँपालिका धेरै टाढा र विकट भएर सङ्घीय सरकारको नजर अझै पर्र्न सकेको छैन । अहिले पनि सरकारले आवश्यकता अनुसार बजेट विनियोजन नगर्दा सडक निर्माण हुन नसकेको उहाँले बताउनुभयो । 

२०६४ सालमा माथिल्लो मुगुलाई सदरमुकाम गमगढीमा जोड्न र उत्तरी चीनसँग जोड्ने उद्देश्यले जिल्ला विकास समितिको कार्यालयले सडक विस्तार गर्न काम थालनी भएको थियो । १४ वर्ष बितिसक्दा पनि राज्यबाट सडक निर्माणमा तीव्रता दिन सकेको छैन । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विनोदकुमार मल्लले अहिलेको रफ्तारमा काम गर्दा नाकच्यालाग्ना सडक पूरा हुन वर्षौं लाग्ने देखिएकाले छिटोछरितो सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने सुझाव छ । 

कर्णाली प्रदेशको आम्दानीको स्रोत हुने दोस्रो ठुलो नाका नाकच्यालाग्ना सडक हो । सङ्घीय सरकारले मुगु जिल्लाको नाकच्यालाग्ना सडकलाई ट्र्याक खोल्न छिटो पर्याप्त रकमको व्यवस्थापन गरी कर्णाली प्रदेशकै आम्दानीको स्रोत हुने मल्लको भनाइ छ । यो नाकाबाट सडक सम्पन्न भएको अवस्थामा सहजै जडीबुटीदेखि नेपालमा निर्मित सामग्री चीनमा निर्यात र चीनका निर्मित लत्ताकपडादेखि त्यहाँ उत्पादित खाद्यान्नलगायत अन्य सामग्री नेपालमा आयात गर्न सकिने जिल्ला नागरिक समाजका संयोजक रूपबहादुर मल्लले बताउनुभयो ।