• ७ पुस २०८१, आइतबार

बाघ मार्न खोज्ने एक जना पक्राउ

blog

वसन्त पराजुली

नारायणगढ पुस ७ गते ।  बाघ मार्ने  प्रयास गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ ।

निकुञ्जले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार पूर्वी नवलपरासीको त्रिवेणी गाउँ पालिका वडा नम्बर १ का २० वर्षीय अमृत न्यौपानेलाई बाघ मार्ने प्रयास गरेको अभियोगमा पक्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशराज पन्तले  गत कार्तिक २९ गते पक्राउ परेका न्यौपाने माथि  अनुसन्धान पूरा  भई आइतबार चितवन  जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी भई रहेको जानकारी दिनुभयो ।

निकुञ्जले नेपाली सेनाको नयाँ गोरख गढको समन्वयमा न्यौपानेलाई पक्राउ गरेको हो  ।  न्यौपानेसँगै निकुञ्जले तार बरामद गरेको छ । तारलाई पासोका रूपमा प्रयोग गरिएको र त्यसमा बाघको रौँ समेत भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो घटनामा पासो थाप्ने क्रममा अर्का अभियुक्त भने बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जले जनाएको छ ।

गत कार्तिक २ गते  विनयी त्रिवेणीकै ६० वर्षीय जीतबहादुर थिङ्गलाई बाघले आक्रमणमा गरेर मारेको हो  । उनी लामो समय देखि चोरी सिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ ।

पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा मुद्दा चलाइने  तयारी भएको छ ।