नवलपरासी समाचारदाता
कावासोती, पुस ७ गते । गण्डकी प्रदेश सरकारको भारतसँग सीमा जोडिने कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ ।
गण्डकी प्रदेश सरकारले सो आयोजनालाई प्रदेशको गौरवको योजनाको सूचीमा राखेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय नवलपुरले जनाएको छ ।
गाउँ–झ्यालबास खण्डमा पहिलो चरणमा हाल ३.४ किलोमिटर सडक निर्माण अघि बढिरहेको छ । २०७९ वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको सो खण्ड २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ३२ करोड २० लाख रुपियाँको लागतमा हुने उक्त सडक निर्माण सुरु गरिएको हो ।
नालासहित कालोपत्र गर्ने योजनाका साथ काम चलिरहेको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको छ । नाला निर्माणसँगै ठाउँ ठाउँमा ग्याबिन भर्ने, सडकछेउमा पर्खाल निर्माण गर्ने काम जारी छ । सम्झौताको २१ महिना सकिएको छ ।
सम्झौताको अवधिभित्रै काम सक्ने गरी लागिरहेको र सडक चौडा पार्ने, ग्याबिन भर्ने, छेउछाउमा पर्खाल लगाउने जस्ता मुख्य काम धेरै जसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने भएको छ । प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा भएको आयोजनाले जनाएको छ । नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने सो सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको कामसमेत अगाडि बढेको छ ।
डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने छ । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमशः सबै खण्डको काम अघि बढ्ने जनाइएको छ ।
झ्यालबासबाट चोरमारासम्म १० किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पु¥याउने प्रदेश सकारको लक्ष्य छ तर दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन । सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वी राजमार्गमा जोडिन्छ ।
मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।