मार्तडी समाचारदाता
मार्तडी (बाजुरा), पुस ७ गते । खप्तड राष्ट्रिय निकुञ्जमा अहिलेसम्म विद्युत् विस्तार हुन सकेको छैन । अहिले सो क्षेत्रमा विद्युत् विस्तार नहुँदा जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यान केन्द्रित भएको छ । बाजुरासहित डोटी, अछाम र बझाङ जिल्लाको सिमानासँग जोडिएको खप्तड राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्न पहल थालिएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
उहाँका अनुसार निकुञ्ज कार्यालय र नेपाली सेनाको समरजित गुल्म खप्तड ब्यारेक बाजुराबाट विद्युतीकरणका लागि आवश्यक पहल गरिदिन हुन भनेर अनुरोध आएको हुँदा जडान गरिदिन प्रशासन कार्यालयमार्फत नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रदेशलाई समेत पत्र पठाएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पाध्याले भन्नुभयो, “सर्वसुलभ सेवा प्रवाहका लागि सो क्षेत्रमा विद्युत् जडान गरेर सञ्चालन गर्न अति आवश्यक देखिएकाले विद्युत् जडान गर्न आवश्यक व्यवस्था गरिदिन प्राधिकरणलाई आग्रह गरिएको छ ।”
खप्तड राष्ट्रिय निकुञ्जमा बाह्रै महिना मौसम प्रतिकूल हुन्छ । यहाँ खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय बाजुरा र नेपाली सेनाको समरजित गुल्म खप्तड ब्यारेक छन् । विद्युत् नहुँदा दैनिक कामकाज गर्न समस्या हुने गरेको समरजित गुल्मका गुल्मपति रामकुमार थापाले बताउनुभयो ।
हिउँ र तुसारोका कारण सोलारले काम नगर्ने भएका कारण ठुलो चुनौती भोग्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले बिजुली नभएका कारण सञ्चारबाट समेत टाढा हुनु परेको र हिउँपर्नेबित्तिकै सोलारले काम नगर्ने र फोन टावरसमेतले काम नगर्ने भएका कारण थप समस्या हुने गरेको बताउनुभयो ।
“खप्तड क्षेत्रमा हिउँदको समयमा चाँडै छ/सात फिटसम्म हिउँ जम्ने र अत्यधिक चिसोले सोलारबाट प्राप्त हुने विद्युत् पर्याप्त नहुने र सोलारमा समेत हिउँ जमेर टेलिफोन, सञ्चार, इन्टरनेट सेवा अवरुद्ध हुने भएका कारण समस्या खेप्दै आएका छौँ,” गुल्मपति थापाले भन्नुभयो ।
विद्युत् प्राधिकरण केन्द्र बाजुराका प्रमुख राजेशकुमार झाले सो क्षेत्रमा विद्युत् विस्तार गर्न सङ्घ, प्रदेशसँग समन्वय भइरहेको बताउनुभयो । सो क्षेत्रलाई मध्यनजर गरेर छिट्टै विद्युत् जडान गर्ने उहाँले बताउनुभयो । निकुञ्जमा विद्युत् नहुँदा यहाँका कर्मचारी, सुरक्षाकर्मी, तीर्थयात्री, पर्यटक र होटेल व्यवसायीले सास्ती खेप्दै आउनु परेको छ ।