धनगढी , पुस ६ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गर्नुभएको छ ।
उहाँले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भन्नुभयो, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने छ। त्यसका लागि म नेतृत्व लिन तयार छु ।’
उहाँले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने विश्वास व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइँदैन ।’
पार्टीमा एकता नभएको भन्दै, उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीले पहल गर्नुपर्नेमा जोड दिनुभयो । अहिले कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको उहाँले बताउनुभयो । विस्तारै कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको उहाँले उल्लेख गर्नुभयो ।
कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनका क्रममा भन्नुभयो, ‘अब पार्र्टीभित्र कसैलाई अन्याय हुन दिइने छैन, अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु ।’
सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहनुभएका उहाँले बिहान भातृ तथा शुभेच्छुक संस्थासँग अन्तरक्रिया तथा छलफल गर्नुभएको थियो । सो भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाको तोकिएको समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिनुभएको थियो ।