• ६ पुस २०८१, शनिबार

बन्दीपुर गाउँपालिकामा श्रम रोजगार बैंक स्थापना

blog

बन्दीपुर गाउँपालिकाको कार्यालय। तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस ६ गते । तनहुँको एक पालिकाले श्रम रोजगार बैंक स्थापना गरेको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बन्दीपुर गाउँपालिकाले स्थापना गरेको हो।  

आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न बैंक स्थापना गरिएको गाउँपालिकाले जनाएको छ। यस बैंकले कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउने छ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्ति र रोजगदाताको विवरण एकीकृत रुपमा तयारी गरेर रोजगार विनिमय कार्य सञ्चालन गर्ने शुक्रबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी दिनुभयो। 

अध्यक्ष थापाका अनुसार कामको खोजीमा रहेका व्यक्ति र कामदारको खोजीमा रहेका रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न इच्छुक व्यक्तिहरुले क्युआर स्क्यान गरेर गुगल फर्मको लिङ्कमा गएर, वडा कार्यालय मार्फत वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सकिनेछ।