• २ पुस २०८१, मङ्गलबार

पर्यटन समृद्धिको आधारशिला

blog

सरकारले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न नीति तथा कार्यक्रम अघि सारेको छ । सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरी ती गन्तव्यको पहिचान, विकास र प्रवर्धन गर्ने उल्लेख छ । पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी तिनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिने तथा ग्रेट हिमालयन ट्रेललगायतका पर्यटकीय पदमार्ग पूर्वाधार निर्माणलाई तीव्रता दिइने नीति ल्याइएको छ । नेपालमा विगतका तुलनामा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यो वर्ष नेपाल घुम्न आउने पर्यटक सङ्ख्या ११ महिनामै १० लाख नाघेको छ । तथ्याङ्क अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

यसैबिच सरकारले सन् २०२३–२०३३ लाई भ्रमण दशकसमेत घोषणा गरेको छ । विदेशी पर्यटक भित्र्याउनमा देशले ठुलै उपलब्धि हासिल गरे पनि आन्तरिक पर्यटनको प्रवर्धनमा भने खासै प्रगति भएको देखिँदैन । सरकारी तथा गैरसरकारी निकायले आन्तरिक पर्यटनले अर्थतन्त्रमा पु¥याएको योगदान, यसका सम्भावना र चुनौतीबारे सूक्ष्म अध्ययन, विश्लेषण गरेको पाइँदैन । दिगो आर्थिक विकासका लागि गैरउत्पादन क्षेत्रमा खर्चिने धनराशिलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न तथा उद्योग, व्यापार, व्यवसाय तथा रोजगारीको अवस्था सिर्जना गरी मुलुकलाई आत्मनिर्भर बनाउन आन्तरिक पर्यटन भरपर्दाे माध्यम हुन सक्छ । 

पर्यटन प्रवर्धनमा सरकारको दशकौँदेखिको प्रयास जारी नै छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको थियो तर भ्रमण वर्ष सुरु नहुँदै विश्वमा कोरोना फैलिएर सो वर्ष मुस्किलले दुई लाख ३० हजार मात्र पर्यटक नेपाल भित्रिए । सरकारले आगामी वर्ष सन् २०२५ लाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको छ । एक दशकमा पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा १० प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको छ । पर्यटन दशकको अवधारणापत्रमा पर्यटकको बसाइ २० दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च पनि १२५ अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको छ । आर्थिक सवेक्षण २०७८/७९ अनुसार सन् २०२१ मा पर्यटकको औसत बसाइदर १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर रहेको थियो । 

नेपालका हरेक जिल्लामा पर्यटकीय गन्तव्य भए पनि नेपाली नेपाल घुम्न छोडेर विदेश घुम्न बढी रुचाउँछन् । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आव २०८१/८२ को आर्थिक प्रतिवेदन अनुसार पहिलो तीन महिनामा नेपालीले विदेश भ्रमण गर्दा २३ अर्ब ६० करोड रुपियाँ विदेशमा खर्च गरेका छन् भने सोही अवधिमा विदेशी नागरिकले नेपाल भ्रमण गरेर १७ अर्ब ७२ करोड रुपियाँ नेपालमा खर्च गरेका छन् । यसरी विदेश घुम्ने क्षमता भएका नेपालीले नेपालको पनि भ्रमण गरेको भए नेपालको आन्तरिक पर्यटन कति फस्टाउँथ्यो होला ? 

आन्तरिक पर्यटन प्रवर्धनका लागि राज्यले सरकारी, गैरसरकारीलगायत निजी क्षेत्र समेतका कर्मचारी तथा श्रमिकलाई घुमफिरका लागि वार्षिक काज वा छुट्टीका साथै अन्य सहुलियत र सुविधा उपलब्ध गराउन सक्नु पर्छ । किनभने वैदेशिक अध्ययन तथा रोजगारीका सिलसिलामा विश्वभर पुगेका नेपालीले पहिला आफ्नै देशको भ्रमण गरेमा मात्र उनीहरूले विदेशमा रहेका बेला त्यहाँका नागरिकसँग नेपालको प्रचार प्रसार गरेर विदेशी पर्यटकलाई लोभ्याउन सक्छन् । नेपालमा अनेकौँ संस्कृति तथा धार्मिक सम्पदा र तीर्थस्थलहरू संरक्षणको अभावमा लोपोन्मुख छन । त्यस्ता धरोहरको खोज र प्रचारप्रसार नभएको भने होइन । सरकारले बजेटमार्फत नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गर्न तथा आन्तरिक पर्यटन प्रवर्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ, भन्ने नारासहित अभियान ल्याएको छ । 

आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलो राष्ट्रिय कार्यक्रमका रूपमा घुमफिर वर्ष २०७३ सुरु गरेको थियो । आन्तरिक पर्यटन प्रवर्धनका लागि यसअघि सन् १९९८ मा नेपाल भ्रमण वर्ष र सन् २०११ मा नेपाल पर्यटन वर्ष मनाइएको थियो । नेपाल मनोरम प्राकृतिक छँटा, बहुधार्मिक, बहुजातीय, बहुभाषिक, जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित गराउन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको उत्तिकै भूमिका हुन्छ । त्यसमाथि पनि देशका विभिन्न क्षेत्रमा र विदेशका स्थायी कूटनीतिक नियोगमा कार्यरत सरकारी कर्मचारीको त पर्यटन प्रवर्धन गर्ने जिम्मेवारी नै हो । नियोगको मुख्य कार्य अन्तर्गत पर्यटन प्रवर्धन पनि पर्छ । त्यसको लागि विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरूले पहिला नेपाललाई राम्ररी चिनेको हुनु पर्छ । उनीहरूले आफ्नो देशका कुनाकाप्चासम्म पुगेर त्यहाँको वस्तुस्थिति नियाले मात्र विदेशीलाई नेपाल राम्रोसँग चिनाउन सक्छन् । आफूले बुझेपछि मात्र नेपालबारे विदेशीलाई बुझाउँदै नेपाल घुम्नका लागि लालायित गराउन सक्छन् । 

देश तथा विदेशमा कार्यरत कर्मचारीलाई नेपाल भ्रमणमा उत्साहित बनाउन सरकारले भ्रमण सुविधा पनि दिएको छ । आन्तरिक पर्यटन प्रवर्धनका लागि आव २०७८/७९ देखि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने घोषणा गर्नुभएको थियो । सो निर्णय कार्यान्वयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कार्यविधि तयार पारेको छ । कार्यविधिमा एक कर्मचारीले आफ्नो साथमा श्रीमान् वा श्रीमतीमध्ये एक जनासँगै लैजान सक्ने र त्यस क्रममा आफ्नो तोकिएको पारिश्रमिकको दैनिक हुन आउने रकम खर्चका रूपमा दिने उल्लेख छ । यो रकम पाउन कर्मचारीले तोकिएका गन्तव्यमा पुगेर १० दिन बसेको र त्यहाँ खर्च गरेको प्रमाण र गन्तव्यबाट फर्किएपछि सम्बन्धित निकायमा प्रतिवेदनसमेत बुझाउनु पर्छ । छुट्टै बजेटको स्रोत नभएकाले यो कार्यक्रम पूर्ण रूपले कार्यान्वयनमा आउन सकेको छैन । 

नेपाल विश्वमा प्राकृतिक सुन्दरता, अद्वितीय संस्कृति तथा साहसिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यको रूपमा परिचित छ । विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोत रहेको पर्यटन नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण आधार हो, जसले पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना र देशको विकासमा योगदान पु¥याएको छ । त्यसैले पर्यटन क्षेत्रको लगानी खेर जान नदिन र त्यससँग आश्रित हजारौँको रोजगारीको समेत संरक्षण गर्न सरकार तथा निजी क्षेत्रको समन्वयमा साझा प्रयास थाल्नु आवश्यक छ । यसो गरेमा नागरिकमा देश घुम्ने संस्कृतिको विकास भई देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण र समृद्ध मुलुक निर्माणको आधारशिला तयार हुन्छ । 

 

Author

तारा वाग्ले