काठमाडौं, मङ्सिर ३० गते। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित हुनुभएको छ। उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो। महासंघको उपत्यका प्रदेश अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयन गरेका हुन्।
अध्यक्ष पदमा निर्वाचित रोकाले ६४८ मत ल्याउनु हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मोहनप्रसाद पन्तले ४१० मत पाउनुभएको छ। अध्यक्षका अर्का उम्मेदवार शिव बस्नेतले ९३ मत पाउनुभएको छ।
उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६८३ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रटिद्वन्द्वी कालिकाबहादुर महतले ४१६ मत पाउनुभएको छ। उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने ६८८ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सतिदेवी उप्रेतीले ३६३ मत पाउनुभयो।
महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी रामचन्द्र दुलालले ५०९ मत पाउनुभएको छ।
उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी ६३१ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले ४४४ मत पाउनुभएको छ। समावेशी सचिवतर्फ प्रविण श्रेष्ठ विजयी हुनुभएको छ। उहाँले ६१९ मत पाउनुभएको हो। उहाँका प्रतिद्वन्द्वी मोहन वल्लले २६३ मत ल्याउनुभएको छ।
कोषाध्यक्षमा सन्जिप घिमिरे निर्वाचित हुनुभएको छ। उहाँले ४७७ मत पाउँदा उहाँका प्रतिस्पर्धी नीरज रञ्जीतले ३५२ मत पाउनुभएको छ।
त्यसैगरी, खुला ६ जना सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भिमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी हुनुभएको छ। महिला तीन जना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित हुनुभएको छ।
दलित सदस्यतर्फ लिलामाया नेपाली विजयी हुँदा जनजाती सदस्यमा शैलेस डंगोल र सुरेश सायजु विजयी हुनुभएको छ। मधेशी र अल्पसंख्याक सदस्यमा क्रमश प्रदिप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित हुनुभएको छ।