• ३० मंसिर २०८१, आइतबार

ब्रदरहुडलाई सिरिजङ्घा गोल्डकप उपाधि

blog

सिरिजङ्गा गोल्डकप उपाधिसाथ ब्रदरहुड फुटबल क्लबका खेलाडीलगायत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ३० गते । ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब उदयपुरले जितेको छ । सुनसरीको मरिक फुटबल क्लबलाई पराजित गर्दै ब्रदरहुडले उपाधि जितेको हो ।

ब्रदरहुडले मरिक फुटबल क्लबलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको समयमा २–२ गोलको बराबरी भएपछि खेल प्यानल्टी सुटआउटतर्फ धकेलिएके थियो । प्यानल्टी सुटआउटमा पनि ५–५ को बराबरी हुँदा खेल सडन डेथमा पुग्यो । सडन डेथमा भने ब्रदरहुडसँग मरिक ६–५ गोलअन्तरले पराजित भएको हो ।

उपाधि जितसँगै ब्रहरहुडले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कारसहित सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको ट्रफी, पदक र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेता बनेको मरिक फुटबल क्लबले एक लाख २५ हजार ५५५ रुपियाँ पाएको छ । विजेतालाई सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष डा. चित्रकुमार माबोलगायतले ट्रफी र पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा भारतको पारिजात फुटबल क्लब सिलिगुढीसहित आठ टोली सहभागी भएका थिए । किराँत लिम्बू लिपि ‘सिरिजङ्गा लिपि’ का प्रचारक तथा याक्थुङ संस्कृतिका प्रणेता इतिहास व्यक्तित्व सिरिजङ्गासिङ थेबेको जन्मजयन्तीको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार प्रतियोगिता गत मङ्सिर २३ गते आइतबार सुरु भई शनिबार सम्पन्न भएको हो ।