• ३० मंसिर २०८१, आइतबार

उँधौली पर्व मनाउँदै किरात समुदाय

blog

उँधौलीको अवसरमा सांस्कृतिक झाँकी प्रस्तुत गरिदै ।

निशा राई

धरान, मङसिर ३० गते । धरान उपमहानगरपालिकाको साकेला थानहरुमा आइतबार उँधौली साकेला नाचेर किरात समुदायहरुले उँधौली पर्व मनाएका छन् ।

हरेक वर्षको मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व किराती मान्यताअनुसार बाली भित्र्याएको खुशीयालीमा मनाउने गरेको धरान –१२ निवासी ७५ वर्षीय राजकुमार राईले बताउनुभयो । धरानको विभिन्न स्थानमा साकेला थान स्थापना गरिएको छ । जसमा धरान –१७ साकेला थानमा साकेलाको पूजा गरिने र नाचिने उहाँले बताउनुभयो । 

उँधौली पर्वमा पुरुषहरु दौरा सुरुवाल, टोपीलगायत पेचुरी धजुरी, वाबु, बुन्छत, मुर्चुङ्गा छातिमा झुन्ड्याई नाच्ने गर्छन् । महिलाहरु गुन्युचोली, लाछा, सिरबन्दी, पैसाको हारी मालाजस्ता गहना लगाइ नाच्ने गर्दछन् । हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने प्रचलन रहेको राईले बताउनुभयो । नाच्दा चराचुरुङ्गी र जीव जनावारको हाउभाउ गर्ने प्रचलन रहेको उहाँले बताउनुभयो ।

साकेलाको समयमा आफ्नो साथीभाइसँगै मौलिक पहिरनमा नाच्ने गरेको धरान –१२ का ईन्कुहाङ राईले बताउनुभयो । हामी किरातहरुको मुख्य चाडहरुमध्ये उँधौली पनि एक रहेको उहाँले बताउनुभयो । उँधौली साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली भित्र्याउने बेलामा पूजा गर्दै हातमा ढोल, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर नाचिने र यसरी नाच्नुलाई सिली पनि भनिने राईले बताउनुभयो ।  

साकेला विशेषगरी उधौली र उभौलीमा मात्र नाच्ने गरिए पनि पछिल्लो समय विवाह, व्रतबन्धलगायतको सामाजिक कार्यक्रमहरुमा पनि नाच्ने गरेकोले पुस्ता हस्तान्तरण भइरहेको अध्यक्ष राईले बताउनुभयो । 

आइतबार धरान लगायत नेपालका विभिन्न स्थानहरुमा राईहरूले मङ्सिर पूर्णिमालाई अन्नबाली थन्क्याउने रुपमा साकेला मनाइरहेका छन् । लिम्बु समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर चाड मनाइरहेका छन् ।