काठमाडौँ, मङ्सिर ३० गते । सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो ।
जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अङ्क बनाएको बनाएको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ । समान १० अङ्कसहित दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगेको छ ।
यस्तै सात खेलबाट आठ अङ्क बनाएको चितवन टाइगर नेट रनरेटका आधारमा प्लेअफमा पुगेको छ । सुदूरपश्चिमले लिगको अन्तिम खेल सोमबार कर्णाली याक्ससँग खेल्नेछ । यस खेलपछि प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ ।
जितका लागि एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिस गौसले सर्वाधिक ३६ रन बनाउनुभयो । यस्तै रेमोन रिफरले ३३, करण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाउनुभयो ।
बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले पाँच विकेट लिनुभयो । उहाँले विकेट लिने क्रममा ३.४ ओभर बलिङ गर्दै १८ रन खर्चिनुभयो । यस्तै हरमित सिंहले तीन तथा सईफ जैवले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि आरिस शेखले ३८ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ४२ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलनले २३, कप्तान दिपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोड्नुभयो ।
बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिनुभयो । यस्तै रेमोन रिफर, सागर ढकाल र माइकल लिस्कले एक एक विकेट लिनुभयो ।