मीना कंडेल
कावासोती, मङसिर ३० गते । नवलपुरको देवचुली –१५ प्रगतिनगरमा रहेको पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालयमा धर्मप्रतिको जागरण तथा मानव कल्याणका लागि ज्ञान महायज्ञ गरिएको छ ।
देशको विभिन्न स्थानबाट आएका सन्तहरुले वैदिक सनातन धर्म र वेद शास्त्रहरुको बारेमा प्रवचन गर्नुभएको छ । वेदसँग सम्बन्धित ज्ञान बाँड्न सन्तहरूले प्रवचन दिइरहेको स्वामी सच्चिदानन्द सरस्वती महाराजले बताउनुभयो ।
मानव चोला आफैमा उत्कृष्ट चोला भएको र यस चोलामा रहेर उत्कृष्ट कर्म गरी देवतुल्य बन्ने अवसरसमेत रहेको उहाँले बताउनुभयो । वेद तथा शास्त्रका ज्ञान उत्कृष्ट जीवनयापनका लागि उत्तम मार्गदर्शनका रुपमा रहेको सन्तहरुले बताउनुभयो ।
२०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान गर्नेे उद्देश्यले स्थापित यो विद्यालयमा आवासीय रूपमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्यापन हुुने गरेको छ । हरेक वर्ष स्थानीयवासीले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर सञ्चालनको खर्च जोहो गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताउनुभयो ।
विद्यालयमा आवासीय रूपमा अध्ययनरत विद्यार्थीको पठनपाठन, भोजन, आवास लगायतको व्यवस्थाका लागि हरेक वर्ष विद्यालयमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर खर्च व्यवस्थापन गर्ने गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
अहिले यस विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । यहाँ पढ्ने विद्यार्थी वटुकको शिक्षा–दीक्षा, भोजन, आवास व्यवस्थापनका साथै मठ, मन्दिर, गौशालालगायत पञ्चशाला मर्मत–सम्भार, संरक्षण, संवर्धन गर्न धनधान्याञ्चल ज्ञान महायज्ञ भएको छ ।