• ३० मंसिर २०८१, आइतबार

नेपालगन्जमा ट्राफिक लाइट

blog

संचालनमा आएको ट्राफिक लाइटबारे सवारी चालकलाई जानकारी गराउँदै ट्राफिक प्रहरी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मंसिर ३० गते। सबैभन्दा बढी यातायातका साधन आवागमन गर्ने नेपालगन्जका विभिन्न पाँचवटा चोकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट सञ्चालन भएका छन्। 

व्यस्त मानिने नेपालगन्जको धम्बोझी चोकमा ट्राफिक लाइट संचालनमा ल्याएर सवारी चालक र सर्वसाधारणलाई त्यसको उपयोग बारे सिकाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका वरिष्ठ सई प्रविण आचार्यले धम्बोझी चोकको ट्राफिक लाइट संचालनमा ल्याएर सो बारेमा त्यहाँ आवगमन गर्ने सवारी चालक तथा सर्वसाधारणलाई सिकाउने काम भइरहेको बताउनुभयो। 

उहाँले पहिलो चरणमा धम्बोझी चोकमा लाइट संचालन गरिएको बताउनुभयो।  त्यसपछि क्रमशः पुष्पलाल चोक, गणेशमान चोक, बिपी चोक र राँझा चोकमा पनि संचालन गरिने उहाँको भनाइ छ। 

ट्राफिक लाइट संचालन गर्दा एउटा चोकमा कम्तीमा पनि पाँच जना ट्राफिक प्रहरी आवश्यक पर्ने हुँदा जनशक्ति तथा अन्य केही प्राविधिक कारणले नेपालगन्जमा निर्माण गरिएका ट्राफिक लाइट संचालन हुन नसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

नेपालगन्जका विभिन्न चोकमा ट्राफिक लाइट जडान भएको करिब एक वर्षपछि हाल आएर संचालन गर्ने प्रक्रिया सुरु गरिएको हो।