• ३० मंसिर २०८१, आइतबार

पत्रकार महासङ्घको मतगणना अन्तिम चरणमा, निर्मला शर्मा जितनजिक

blog

निर्मला शर्मा

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर ३० गते  । नेपाल पत्रकार महासङ्घको शुक्रबार सम्पन्न निर्वाचनको मतगणना अन्तिममा चरणमा पुगेको छ हालसम्मको मतगणना अनुसार अध्यक्षमा निर्मला शर्मा जितनजिक पुग्नुभएको छ  ।

निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालका अनुसार शनिबार बेलुकी ७ बजेसम्मको गणनामा अध्यक्षका उम्मेदवार निर्मला शर्माले तीन हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले दुई हजार ८२९ मत प्राप्त गर्न‘भएको छ ।

त्यसै गरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहल अग्रस्थानमा हुनुहुन्छ ।

हालसम्म उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मतगणना सकिएको छ । यो समाचार तयार पार्दासम्म केही जिल्लाको मात्र मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले सबै मतपरिणाम आइतबार एकै पटक सार्वजनिक गर्ने संयोजक खनालले जानकारी दिनुभयो ।

महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले शर्माको नेतृत्वमा र प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन विष्टको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनाई उम्मेदवारी दिएका थिए । 

जस अनुसार मतगणना सम्पन्न भएका अधिकांश जिल्ला, प्रदेश र प्रतिष्ठान शाखामा युनियन र चौतारीको संयुक्त प्यानल विजयी भएका छन् । हालसम्म पाल्पा, नवलपरासी, रामेछाप, रौतहट, मकवानपुर, कपिलवस्तु, प्युठान, बैतडी, सिन्धुली, ओखलढुङ्गा, दोलखा, मनाङ, सर्लाही, भक्तपुर, नुवाकोट, खोटाङ. हुम्ला, अर्घाखाँची, बागलुङ, बर्दिया, मुगु, डोल्पा र रोल्पाको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

सिराहामा बनैता

राससका अनुसार नेपाल पत्रकार महासङ्घ सिराहा शाखाको अध्यक्षमा मनोजकुमार बनैता यादव पुनः निर्वाचित हुनुभएको छ । शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट यादव निर्वाचित हुनुभएको हो । उहाँले ३३ मत प्राप्त गर्नुभएको छ भने नेपाल प्रेस युनियन र प्रेस चौतारी गठबन्धनका उम्मेदवार रामबाबु यादवले ३० मत र प्रेस सेन्टरका हिरालाल चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।

नुवाकोटमा आलोपालो

नुवाकोट शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । अध्यक्षका उम्मेदवार नमराज सुवेदी र रामहरि गजुरेलले समान ३३ मत प्राप्त गरेकामा दुई उम्मेदवारले आधा आधा कार्यकाल जिम्मेवारी लिने सहमति गरेसँगै निर्वाचन समितिले दुवैलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ ।

बैतडीमा नयाँ नेतृत्व

बैतडीमा नरीदत्त बडूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । खसेको कुल ४५ मतमध्ये बडूले ३९ मत ल्याएर विजयी हुनुभयो । अर्का अध्यक्षका उम्मेदवार लोकेश साउँदले छ मत मात्रै प्राप्त गर्नुभयो । बडू नेपाल टेलिभिजन र साउँद नयाँ पत्रिकाका जिल्ला संवाददाता हुनुहुन्छ ।

कोशी प्रदेश अध्यक्षमा खड्का

कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतगणना अनुसार उहाँ ६१४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताउनुभयो । उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित हुनुभएको छ । खुला सचिवमा यसअघि नै ध्रुव भट्टराई निर्विरोध निर्वाचित हुनुभएको थियो । 

गण्डकीमा पौडेल 

गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित हुनुुभएको छ । पौडेलले ४०१ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले १७८ मत प्राप्त गर्नुभयो ।

प्रदेश समितिको उपाध्यक्ष (खुला) मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मा मायाकुुमारी अधिकारी, महासचिवमा जमुुना वर्षा शर्मा, सचिव (खुला) मा भविश्वर पाण्डे, सचिव (समावेशी) मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित हुनुभएको हो । 

बागलुङमा थापा

नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी हुनुभएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिनुभयो । 

थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गर्नुभएको छ । 

चितवनमा पराजुली

चितवन शाखाको अध्यक्षमा वसन्तराज पराजुली निर्वाचित हुनुभएको छ । शनिबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार पराजुलीले १३२ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी प्रकाशमणि ज्ञवालीले ९० मत प्राप्त गर्नुभयो ।

सुनसरीमा काफ्ले

सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन, सचिवमा पर्शुराम बाह्रकोटी, सहसचिवमा विकल रेग्मी, सहसचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा विवेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत हर्ष सुब्बाले जानकारी दिनुभयो । 

मोरङमा पाठक

मोरङ शाखाको अध्यक्षमा सुशीला पाठक निर्वाचित हुनुभएको छ । मतपरिणाम अनुसार पाठकले ११७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गर्नुभयो । 

ताप्लेजुङमा आचार्य

ताप्लेजुङमा सुवास आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । आर्चाय सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो । 

म्याग्दीमा गौतम

म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्ष पदमा अन्य उम्मेदवारी नपरेपछि शुव्रmबार निर्वाचन समितिले अध्यक्षमा गौतम सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरेको हो । 

सङ्खुुवासभामा शाक्य

सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुला दुर्गामणि पौडेल, समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिनुभयो । 

पाल्पामा तिमिल्सिना

पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिका लागि शुव्रmबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो । निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचित हुनुभएको छ ।

रसुवामा पौडेल

रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल चयन हुुनुभएको छ । उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अशिष तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्यक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । 

सिन्धुपाल्चोकमा दङ्गाल

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दङ्गाल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा कमला पाख्रिन र दीपक अर्याल, सचिवमा टीका सुवेदी, सहसचिव (खुला) देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित हुनुभएको निर्वाचन संयोजक अमित घिमिरेले जानकारी दिनुभयो । 

पर्सामा खनाल 

पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी हुनुभएको छ । उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जानकारी दिनुभयो ।

जुम्लामा चौलागाईं

जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाईं निर्वाचित हुुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ 

योगीले बताउनुभयो ।

भक्तपुरमा शिल्पकार 

भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी हुनुभएको छ । उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित हुनुभएको छ । 

सप्तरीमा देव 

सप्तरी शाखाको अध्यक्षमा श्रवणकुमार देव निर्वाचित हुनुभएको छ । 

प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन) को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गर्नुभएको छ ।

ललितपुरमा कार्की 

ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ । कार्कीले २४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिनुभयो । 

झापामा गिरी

झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार गिरि १३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्याशी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभयो । 

महोत्तरीमा दास 

महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित हुनुभएको छ । दासले ३२ मत र उहाँका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

धनुषामा साह 

धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित हुनुभएको छ । साहले ८२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गर्नुभयो । 

सोलुखुुम्बुमा दर्नाल 

सोलुखुम्बु शाखा अध्यक्षमा राससकर्मी सुवास दर्नाल विजयी हुनुभएको छ । प्रेस युनियनका दर्नाल प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गर्दै विजयी हुनुभएको हो । निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गर्नुभएको छ 

काठमाडौँ एसोसिएट्स प्रदेशमा आचार्य 

काठमाडौँ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी हुनुभएको छ । आचार्यले २६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले १९२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिनुभयो ।