• ३० मंसिर २०८१, आइतबार

दक्षिण कोरियाका राष्ट्रपति युन निलम्बित

blog

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३० गते । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संसद्ले  महाअभियोग लगाएको छ । महाअभियोग पारित भएसँगै युन राष्ट्रपति पदबाट निलम्बित हुनुभएको छ । दक्षिण कोरियामा सैनिक शासन लगाउँदै ‘मार्सल ल’ लगाएको आरोपमा राष्ट्रपति युनलाई संसद्ले महाअभियोग लगाएको हो । 

युनले करिब दुई साताअघि सैनिक शासन घोषणा गरेलगत्तै संसद् सक्रिय भएर त्यो शासन खारेज गर्दै राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रक्रिया सुरु गरेको थियो ।

जस अनुसार पक्ष विपक्षमा संसद्को मत बाझिएर बहुमत पुग्न नसक्दा महाअभियोग संसद्बाट पारित हुन सकेको थिएन । शनिबार संसद्ले फेरि दोस्रो पटक महाअभियोग प्रस्ताव पेस गरेकामा पक्षमा बहुमत परेकाले राष्ट्रपति युनमाथिको महाअभियोग पारित भएको हो । महाअभियोगको प्रस्तावमा सर्वसम्मत हुन नसके पनि पक्षमा २०४ मत परेपछि महाअभियोग पारित हुन पुग्यो । विपक्षमा ८५ मत परेको थियो भने आठ बदर र तीन अनुपस्थित मत थिए ।

उहाँको निलम्बनपछि प्रधानमन्त्री हान डक सो कार्यवाहक राष्ट्रपति बन्नुभएको छ । अझै पनि उहाँलाई हटाउने वा नहटाउने भन्ने निर्णय हुन बाँकी छ । त्यो अधिकार दक्षिण कोरियाको संवैधानिक अदालतलाई रहेकाले अझै छ महिनाको गृहकार्य त्यसका लागि लाग्ने जनाइएको छ ।