काठमाडौं, मङ्सिर २९ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेको छ ।
काठमाडौंको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिनुभयो । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिनुभयो । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिनुभयो भने मिचेल लेस्कीले एक विकेट हात पार्नुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाउनुभयो ।
साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सक्नुभएन । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोड्नुभयो ।
पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिनुभयो । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिनुभयो ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् । रासस