सिराज खान
नेपालगन्ज, मंसिर २६ गते । कुनै पनि व्यवसाय गरेर मन लगाएर काम गर्ने हो भने सानो व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा बाँके बैजनाथका अङ्कित पुनले प्रमाणित गर्नुभएको छ ।
उहाँले नास्ता पसल गरेर सोही पसलबाट मासिक डेढ लाखसम्म आम्दानी गरिरहनु भएको छभन्दा धेरैले आश्चर्य मान्छन् । पुनले नास्ता बेचेर डेढ लाख रुपियाँ आम्दानी गरिरहनु भएको छ ।
बाँकेको बैजनाथ –६, बनकटवाका ४३ वर्षीय अङ्कित पुनको दैनिकी आजभोलि नास्ता पसलमै बित्ने गरेको छ । स्थानीय सम्झना बजारमा उहाँले सञ्चालन गरिरहेको पसलको नाम हो, आरप्लस ए नास्ता पसल ।
सोही नास्ता पसलबाट मासिक रूपमा सरदर डेढ लाख रुपियाँ बराबर आम्दानी हुने गरेको अङ्कितले सुनाउनुभयो । पसलबाट भएको आम्दानीबाट गाउँमा राम्रो पक्की घर बनाउने उहाँको योजना छ । ‘पसल ठिक चलिरहेको छ, पसलको आम्दानीबाट गाउँमा पक्की घर बनाउने योजना छ’ अङ्कितले भन्नुभयो ।
सो पसलले श्रीमती रंगिता बोगटी र आफ्नो नामसहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भावनालाई प्रतिनिधित्व गरिरहेको उहाँले बताउनुभयो । पुनले सोही समुदायको प्रतिनिधित्व गरिरहनु भएको छ । सुरुमा छोरीको यौन अङ्ग लिएर जन्मनु भएका उहाँ जब १२ वर्षको उमेरमा पाइला टेक्नुभयो । उहाँलाई पुरुषतिर होइन, महिलाप्रति आकर्षण बढ्न थाल्यो । आफ्नो पहिचानका लागि उहाँलाई धेरै सङ्घर्ष गर्नुपरेको छ ।
करिब १५ वर्षपछि २०८० सालमा उहाँको पारिवारिक पुनर्मिलन भयो । स्थानीय सम्झना बजारमा उहाँले नास्ता पसल खोल्नुभयो । नास्ता पसलमा अचेल ग्राहकको भिड नै लाग्छ । नास्ता पसल नै अहिले परिवारको खर्च धान्ने आधार बनेको छ ।
आफ्नै कमाइबाट नेपालगन्जको राँझा र बैजनाथको सम्झना बजारमा उहाँले दुई वटा घडेरी पनि खरिद गरिसक्नु भएको छ । ‘आफ्नै गाउँमा बसेर व्यवसाय गर्न सकेको छु र आत्मनिर्भर बन्न पाएकोमा खुसी छु’ अङ्कितले भन्नुभयो ।