• २७ मंसिर २०८१, बिहिबार

वृद्धाभत्ताको रकम आश्रमलाई

blog

आश्रमलाई सहयोग गर्न जाने क्रममा बालकुमारी पन्थ । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर २७ गते ।
 तनहुँको वृद्धा बुढेसकालमा पनि सामाजिक काममा सक्रिय हुनुहुन्छ । व्यास नगरपालिका–१२ कमलबारी निवासी ९० वर्षीय बालकुमारी पन्थले सामाजिक सुरक्षाभत्ता(वृद्धाभत्ता) रकम बुझेर सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।

पन्थले सामाजिक काममा लाखौँ रकम खर्च गर्नुभएको छ । सामाजिक कार्यको क्रममा उहाँले व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई वृद्धभत्ता बुझेको रकमबाट सहयोग गर्नुभएको छ ।

पन्थल एक महिनाका लागि आवश्यक खाद्यान्न र नगद दुई हजार छ सय रुपियाँ दान दिनुभएको आश्रमी सचिव निर्मला मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, ‘‘सामाजिक काम गर्न उमेर छेक्दैन भन्ने उदाहरण उहाँबाट लिन सकिन्छ ।’’ वृद्धा एवम् आश्रममै आएर हालै दान दिनुभएको थियो । ज्वाई रमानिधि कैनीको ४५ औँ दिनको पुण्य तिथिमा सहयोग गरेको पन्थले बताउनुभयो । करिब ५० वर्ष अघि दुई रोपनी जग्गा बेचेर पन्थले ठाँटी बनाएको पन्थले स्मरण गर्नुभयो ।

पन्थले भन्नुभयो, ‘‘मैलै त्यतिबेला ४० रुपियाँमा दुई रोपनी जग्गा बेचेर त्यसकै ज्यालाले ठाँटी बनाएको थिएँ अहिले जीर्ण भएर भत्किएको छ त्यसलाई मर्मत गर्ने धोको छ ।’’ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले उहाँले स्थानीय स्तरमा थुप्रै सामाजिक काम गरेको बताउनुभयो ।

विद्यालयका लागि चन्दा दिने, पार्टीपौवा बनाउने, मन्दिर बनाउने जस्ता कायमा सहयोग गर्दै आएको अधिकारीले जानकारी दिनुभयो । पन्थले आफ्नो घर नजिकै अद्धैत संस्थाको भवन निर्माणका लागि तीन आना जग्गा दान दिनुभएको छ । सामाजिक काममा खर्च गर्दा परिवारको तर्फबाट विरोध नभएकाले सजिलो भएको वृद्धा पन्थ बताउनुहुन्छ ।