• २७ मंसिर २०८१, बिहिबार

पर्यटन प्रवर्धन गर्ने योजना निर्माणमा ढिलाइ

blog

घोराही –१८ घोरदौरामा निर्माणाधीन अवस्थामा रहेको नाचघर । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, मङ्सिर २७ गते । दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी २०७५ मा सांस्कृतिक डबली (नाचघर) निर्माणको काम सुरु गरिएको थियो ।

सांस्कृतिक डबली निर्माणले स्थानीय कला संस्कृतिको संरक्षणसँगै घोरदौराको विकासमा भूमिका खेल्ने अपेक्षा गरिएको थियो । सोहीअनुसार घोरदौरामा सांस्कृतिक डबलीका लागि भवन, दर्शक बस्नका लागि सिँढी, शौचालय लगायतका संरचना निर्माण गरिएको छ । 

तर ती संरक्षणले पूर्णता पाउन सकेको छैन । बजेट अभाव लगायतका कारण लामो समयदेखि निर्माणअघि बढ्न नसकेको सांस्कृतिक डबलीका संरक्षण जीर्ण बन्दै गएका छन् । स्थानीयका अनुसार सांस्कृतिक डबली निर्माणको काम २०७८ देखि अघि बढ्न सकेको छैन । 

निर्माणको काम अघि बढ्न नसक्दा निर्माण भएका संरचनाहरू जीर्ण बन्दै गएका छन् । घोरदौरामा नाचघरसँगै सडक, खानेपानी, सञ्चार, विद्युत लगायतका पूर्वाधार बन्ने र यी पूर्वाधारले घोरदौरामा उत्पादन भएका बस्तु बेचबिखनका लागि घोराहीसम्म ल्याउन सजिलो हुने आशा गरिए पनि सांस्कृतिक डबली निर्माणको काममै हुन नसकेको स्थानीय प्रेमबहादुर घर्तीको भनाइ छ । 

बजेट अभाव लगायतका कारण देखाउँदै विगत तीन वर्षदेखि काम हुन नसकेको उहाँले बताउनुभयो । पर्यटन प्रवर्धन गर्ने गरी सांस्कृतिक डबली निर्माणको काम अघि बढ्दा खुसी लागेको बताउँदै बुढाले भन्नुभयो, ‘घोरदौरामा सांस्कृतिक डबली निर्माणसँगै यहाँसम्म आउनलाई राम्रो सडक, खानेपानीको सुविधा लगायतका पूर्वाधार बन्नेभन्दा खुसी लागेको थियो । बर्षौँवितिसक्दा पनि न सडक राम्रो बनेको छ, न सांस्कृतिक डबली ।’ 

स्थानीयले जनप्रतिनिधिलाई सांस्कृतिक डबलीबारेमा सोध्दा बजेट अभावका कारण हुन नसकेको बताउनुभयो । त्यसैगरी घोराही उपमहानगरपालिका –१३ स्थित बाह्रकुने दहलाई विकास गर्दै जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउने गरी गुरुयोजना निर्माण गरिएको थियो । 

गुरुयोजनाअनुसार काम अघि बढाउन २०७८ जेठ ३१ गते श्री नागार्जुन शिव निर्मल जेभीले ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले बाह्रकुने दहमा बहुउद्देश्यीय पार्कभित्र मन्दिरका लागि कम्पाउन्ड र पर्खाल निर्माण, गेट, पार्क, टिकट घर र सुरक्षा गार्ड बस्ने घरलगायतका संरचना निर्माणको कामलाई अघि बढाए पनि स्थानीयबिचमा विवाद भएपछि रोकिएको काम अझै सुरु हुन सकेको छैन । 

गुरुयोजना अनुसार सुरक्षा गार्ड बस्ने घरबाहेक अन्य संरचना निर्माण हुन नसकेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गुरुयोजनाअनुसार काम नहुँदा पर्यटकीय प्रवर्धनका लागि ६ करोडभन्दा बढी लागतमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय पार्क निर्माणको काम अलपत्र परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देबहादुर घर्तीमगरले बताउनुभयो । 

उहाँका अनुसार गुरुयोजनाअनुसार अन्य कामका लागि समस्या नभए पनि बाह्रकुने दहमा रहेको कान्छा बराहथान सार्ने विषयमा स्थानीयबिच कुरा मिल्न नसक्दा काम रोकिएको बताउनुभयो ।  

गुरुयोजनाअनुसार बराहथान रहेको स्थानमा जलाशय बनाउने र बराहथानलाई अर्को ठाउँमा सार्ने विषयमा विवाद हुँदा काम रोकिएको भन्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घर्तीमगरले भन्नुभयो, ‘बाह्रकुने दहमा अन्य संरचना निर्माणका लागि स्थानीय तयार रहे पनि बराहथान सार्ने विषयमा स्थानीयको सहमति हुन नसक्दा बहुउद्देश्य पार्क निर्माणको काम हुन सकेको छैन ।’ 

सुरुमा गुरुयोजनाअनुसार अहिलेको मन्दिर अन्यत्र सार्ने र उक्त स्थानमा ठुलो जलाशय निर्माण गर्ने सहमति भए पनि पछि स्थानीयबिच विवाद हुँदा काम रोकिएको थियो । 

गुरुयोजना अनुसार २०८० असार मसान्तभित्र बहुउद्देश्यीय पार्क लगायतका काम सकिनुपर्ने भए पनि अहिलेसम्म काम हुन नसकेको अध्यक्ष घर्तीले बताउनुभयो । बहुउद्देश्य पार्क निर्माणका लागि नौ करोड १५ लाख ५ सय ८५ रुपियाँमा टेन्डर आह्वान भएकोमा निर्माण कम्पनीसँग ६ करोड ६ लाख ५२ हजार पाँचसय ४९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

समयमा काम हुन नसकेपछि ६ महिनाका लागि म्याद थप भएको थियो । उक्त  समयमा पनि काम हुन सकेको छैन । बहुउद्देश्य पार्क निर्माणको योजनालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको भए पनि सहमति जुट्न नसकेको अध्यक्ष घर्तीले बताउनुभयो । 

स्थानीयबिचमा सहमति भए बजेट पर्यटन डिभिजन कार्यालयले बताए पनि कुरा नमिल्दा योजना अलपत्र परेको समितिले जनाएको छ । घोराही उपमहानगरपालिका –१२ हापुरमा पनि बोटानिकल पार्क निर्माणको काम अघि बढ्न सकेको छैन । 

जग्गा छुट्याउनेदेखि वृक्षारोपणलगायतका काम भए पनि बाँकी अन्य पूर्वाधार निर्माणको काम हुन नसकेको स्थानीय पूर्णबहादुर केसी बताउनुहुन्छ ।