• २७ मंसिर २०८१, बिहिबार

किटघाटमा पक्की पुल बन्दै

blog

नदीमा पुल बन्ने भएपछि छलफलमा स्थानीय ।

सलिम मियाँ

बिजुवार, मंसिर २७ गते । झिमरुक गाउँपालिका –७ किटघाटमा बुधबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र प्युठानबाट निर्वाचित प्रदेश सभा सदस्य तथा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले संयुक्त रूपमा झिमरुक नदीमाथि बन्न लागेको पक्की पुलको शिलान्यास गर्नुभयो ।  

लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । चार करोड ८७ लाख  ६३ हजार ४ सय ४३ रुपियाँको लगानीमा पुल निर्माण हुन लागेको छ । पूर्वाधार विकास कार्यालय प्युठानका अनुसार आँसु निर्माण सेवा बिजुवारसँग गत असार ११ गते पुल निर्माणको सम्झौता भएको हो । आगामी २०८२ पुस १० गतेसम्म पुल निर्माण सक्नुपर्ने सम्झौता उल्लेख छ । 

सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले समयमा पुल निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण व्यवसायी बालाजु श्रेष्ठले भुक्तानी प्रक्रियामा कुनै समस्या नआए निर्धारित समयभन्दा अघि नै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पुल शिलान्यास कार्यक्रममा प्युठानका प्रदेश सांसदद्वय तुलसीराम शर्मा, निमा गिरीसहित सरकारी अधिकारीहरूको सहभागिता थियो ।