• २७ मंसिर २०८१, बिहिबार

किताब बोक्न नपर्दा विद्यार्थी खुसी

blog

नवलपरासी समाचारदाता

गैँडाकोट, मङ्सिर २७ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको नमुना सरकारी विद्यालयले विद्यालय जाँदा किताब बोक्नै नपर्ने अवधारणा ल्याएपछि विद्यार्थी खुुसी भएका छन् । 

गैँडाकोट नगरपालिका–८ मा रहेको कालिका नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले विद्यालय जाँदा विद्यार्थीले किताब बोक्नु नपर्ने र यो विद्यालयले अध्ययन अध्यापनका लागि फरक अभ्यास सुरु गरेको प्रधानाध्यापक होमनाथ सुवेदीले बताउनुभयो । 

अहिले हरेक विद्यार्थीले विद्यालय जाँदा सकिनसकी झोलाभरि पुस्तक, कापी, कलम, खाजा हालेर झोला बोकेको देखिन्छ । नमुना विद्यालयमा त्यस्तो अवस्था आउन नदिन कालिका नमुना माध्यमिक विद्यालयले किताब बोक्न नपर्ने गरी व्यवस्था मिलाएको सहायक प्रधानाध्यापक राजु पुरीले बताउनुभयो ।  

सुरुवाती अवस्थामा विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको प्रधानाध्यापक सुवेदीले बताउनुभयो । अहिले सो विद्यालयले विद्यालयका हरेक कक्षामा ‘बुक कर्नर’ बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमसहितका पुस्तकहरू उपलब्ध गराउने गरेको सहायक प्रधानाध्यापक पुरीले बताउनुभयो ।

यो व्यवस्था गरेपछि अहिले विद्यार्थी झोलामा कापी, कलम बोकेर विद्यालय जाने गरेका छन् । खाजा विद्यालयमै उपलब्ध हुन्छ । यसले विद्यार्थीलाई निकै सजिलो बनाएको कक्षा ८ मा अध्ययनरत छात्रा हरि सापकोटाले बताउनुभयो । कक्षा ४ का विद्यार्थी श्याम थापाले किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो विद्यालयले ‘बुक कर्नर’ बनाएपछि किताब बोक्नै नपर्ने बताउनुभयो । शैक्षिक सत्र २०८०  बाट विद्यालयले यस्तो सुविधा विद्यार्थीलाई उपलब्ध गराउँदै आएको प्रधानाध्यापक कँडेलले बताउनुभयो । पहिले झोला गह्रुँगो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् । 

बालबालिकालाई सहज सिकाइ गराउन कक्षाकोठामै पाठ्यपुस्तकको उपलब्धता गराउने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक सुवेदीको भनाइ थियो ।