जाजरकोट समाचारदाता
जाजरकोट, मङ्सिर २७ गते । जाजरकोट भूकम्पपीडितले अस्थायी आवास तथा सामुदायिक पुनर्निर्माणको काम तत्काल अगाडि बढाउन माग गरेका छन् । जाजरकोट भूकम्पपीडितको अवस्था र पुनर्निर्माणको प्रक्रियाबारे बुझ्न जाजरकोट आउनुभएका गृहसचिव गोकर्णमणि दवाडीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
गत वर्ष कात्तिक १७ गते गएको जाजरकोट भूकम्प २०८० ले जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका हजारौँ आवास नष्ट भएका, क्षतिग्रस्त घरमा बस्न असुरक्षित भएर हाल अस्थायी आवासमा बसिरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै नागरिक समाजका तर्फबाट संयोजक राजेन्द्रविक्रम शाहको नेतृत्व ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलले भूकम्पका कारण नष्ट र क्षतिग्रस्त भई बस्न नमिल्ने घरलाई पुनर्निर्माण गर्न उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरी स्थायी आवास निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै हिउँदमा बसोबासका लागि निकै कष्ट हुने गरेको उल्लेख गर्दै स्थायी आवास निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ ।
साथै अस्थायी आवास टहरामा जीवन व्यतीत गरिरहेका नागरिकका लागि स्थायी आवास निर्माणको प्रक्रिया शीघ्र अगाडि बढाउन माग गर्दै मङ्सिर मसान्तसम्म यो प्रक्रिया अगाडि नबढेमा पुस १ गतेदेखि आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ । ज्ञापनपत्र बुझ्दै गृहसचिव गोकर्णमणि दवाडीले भूकम्पपीडितको अवस्थाबारे सरकार संवेदनशील रहेको उल्लेख गर्दै तत्काल पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन सरकार लागिपरेको बताउनुभयो ।