बेइजिङ, मङ्सिर २६ गते । रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव मस्कोको प्रमुख साझेदार मुलुकका नेताहरूसँग वार्ताका लागि यसै साता बेइजिङ भ्रमणमा आउनुभएको चिनियाँ विदेश मन्त्रालयले बुधबार जनाएको छ ।
“रुसी पूर्व राष्ट्रपति मेदभेदेवको चीन भ्रमण चीन र रुसबिचको महत्त्वपूर्ण उच्चस्तरीय विचारहरूको आदानप्रदान हो,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो । माओले रुसी सुरक्षा परिषद्को उपप्रमुखका रूपमा कार्यरत पूर्व राष्ट्रपतिका लागि तय गरिएको यात्रा कार्यक्रम वा बैठकका बारेमा थप जानकारी दिनुभएन ।
सन् २०२२ को डिसेम्बरपछि मेदभेदेवको यो पहिलो चीन भ्रमण हो र भ्रमणका क्रममा चिनियाँ सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता र छलफल हुने उहाँ बेइजिङका लागि छुट्नु अगाडी रुसको सरकारी समाचार संस्था तासले जनाएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा छिमेकी मुलुक युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेदेखि नै चीनले आफूलाई अमेरिका र अन्य पश्चिमा राष्ट्रको विपरीत तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेको छ ।
चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार रहेको छ, जसले गर्दा केही नेटो सदस्य राष्ट्रहरूले बेइजिङलाई युद्धको ‘प्रोत्साहनकर्ता’ को रूपमा चित्रण गरेका छन् । बेइजिङले युक्रेन आक्रमणको कहिल्यै निन्दा गरेको छैन । सी राजनीतिक प्रणालीमा मेदभेदेवको सीमित भूमिका छ । रासस/एएफपी