• २७ मंसिर २०८१, बिहिबार

युक्रेन सङ्कट समाधान पहिलो प्राथमिकता : ट्रम्प

blog

पेरिस, मङ्सिर २६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ । 

“मलाई लाग्छ हामीले रुससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ, अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार रेकर्ड गरिएको एक अन्तर्वार्तामा भन्नुभयो । 

“ती दुवै देशले ठुलो सङ्ख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौँ सैनिक मारिएका छन्,” ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भन्नुभयो । 

“मध्यपूर्व निश्चित रूपमा एक ठुलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रुससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो,” ट्रम्पले भने।

उहाँले भन्नुभयो, “तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू मरिरहेका छन्।”

ट्रम्प सन् २०१९ मा भएको भीषण आगलागीपछि ‘नोट्रे डम क्याथेड्रल’ पुनः सञ्चालनका लागि शनिबार पेरिस आउनुभएको थियो । फ्रान्स भ्रमणका क्रममा उहाँले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको थियो । 

“राष्ट्रपति जेलेन्स्कीसँग हाम्रो भेट भयो र भेटमा सकारात्मक कुराकानी भएको छ,” ट्रम्पले भन्नुभयो । 

जेलेन्स्कीले मङ्गलबार युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्पको दृढ सङ्कल्पप्रति आफू कृतज्ञ रहेको बताउनुभएको थियो । ट्रम्पले २४ घण्टाभित्र युक्रेनको द्वन्द्व अन्त्य गर्न सकिने बताउनुभएको थियो । 

आइतबार उहाँले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा लेख्नुभएको छ, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ ।”

सिरियामा लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई विद्रोहीले सत्ताच्यूत गरेको सिरियामा हस्तक्षेप नगर्न पनि उहाँले वासिङ्टनलाई आग्रह गर्नुभएको छ । 

“सिरियाले आफ्नो सुरक्षा गर्नुपर्छ,” ट्रम्पले अन्तर्वार्तामा भन्नुभयो । हामी सिरियामा संलग्न छैनौँ र हुने सम्भावना पनि छैन ।” रासस