जाजरकोट समाचारदाता
जाजरकोट, मङ्सिर १८ गते । जाजरकोटको भेरी नगरपालिका–१ का स्थानीय बेरोजगार युवा स्थानीयस्तरमै स्वरोजगार भएका छन् । विश्व खाद्य कार्यक्रमद्वारा सञ्चालित भेरी नगरपालिका–१ का रावतगाउँ, कोलचौर, मैदेचौर, घुयलनेटा, डोरीकाँडाका स्थानीयलाई रावतगाउँ–बडालेख जोड्ने सडक स्तरोन्नतिको कामले गाउँमै स्वरोजगार बनाएको हो ।
हाल सडक निर्माण कार्यले ६०५ युवालाई प्रत्यक्ष रोजगार बनाएको परियोजनाले जनाएको छ । भूकम्पका कारण थलिएको उक्त स्थानमा सडक निर्माणको काममा लगाउँदा आफ्नो गाउँको सडक निर्माण हुनुका साथै स्वरोजगारसमेत बनाएको छ । संयुक्त पुनर्लाभ कार्ययोजना र सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना र भेरी नगरपालिकाको संयुक्त समन्वयमा उक्त सडक निर्माण भइरहेको हो ।
भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले बेरोजगार युवालाई रावतगाउँ–बडालेख सडक स्तरोन्नतिमा प्रत्यक्ष रोजगारी दिएको बताउनुभयो । आयोजनाबाट भेरी नगरपालिका–१ का ६०५ जनाले प्रत्यक्ष रोजगारी पाएका रानाले बताउनुभयो । घरको खाना, खाजा खाएर दैनिक नौ सय रुपियाँसम्म ज्याला पाएपछि यस क्षेत्रका बासिन्दा खुसी रहेका वडाध्यक्ष रानाले जनाउनुभयो ।
आइडिएस नेपालका जिल्ला कार्यक्रम संयोजक राजेन्द्र गिरीले परियोजनाले भुरचौर स्याउली र भेरी नगरपालिका–६ को भेर्यामा समेत काम अगाडि बढाएको जानकारी दिनुभयो । गाउँमै रोजगारी पाएका कारण पैसाभन्दा काम पाएकोमा भेरी नगरपालिका–१ का वीरबहादुर बादीले खुसी व्यक्त गर्नुभयो । भारतबाट दसैँका लागि घर आएरलगत्तै कमाइका लागि कालापहाड जाने युवा अहिले गाउँमै काममा व्यस्त छन् । भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले सडक निर्माण कार्यक्रमबाट तीन हजार ९४२ जना लाभान्वित हुने बताउनुभयो । कुल दुई करोड ८६ लाख ३५ हजार ८७८ रुपियाँको लागतमा उक्त सडक निर्माण भइरहेको उहाँको भनाइ छ ।