अमृतप्रसाद पौडेल
म्याग्दी, मंसिर १७ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा पछिल्लो दुई दशकदेखि लगातार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता जारी छ ।
उक्त प्रतियोगिताको २२ औं संस्करण सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । सन २००० देखि निरन्तर रुपमा आयोजना हुँदैआएको जिल्ला स्तरीय अन्तरमावि (कक्षा १० सम्म) जेसीज कप फुटबल प्रतियोगिताको बेनी नगरपालिका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।
म्याग्दीमा विद्यालय तहमा निकै लोकप्रिय मानिने जेसीज कप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा जिल्लाका २० विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीसका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो ।
सोमबार उद्घाटन भएको प्रतियोगिताका खेलहरु मंगलबार सुरु भएर आउँदो शनिवारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी विद्यालयलाई गत वर्षको बिजेता र उपबिजेतालाई दुईतर्फ राखेर दुई समूहमा बिभाजन गरेर प्रतिस्पर्धा गराइने जेसीजकप फुटबल प्रतियोगिताका संयोजक देवेन्द्र घिमिरेले बताउनुभयो ।
जेसीज कप प्रतियोगितामा विजेता विद्यालयलाई नगद ५२ हजार दुईसय २२ रुपियाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल, र प्रमाणपत्रले पुरस्कृत गरिनेछ भने उपविजेतालाई नगद ३२ हजार दुईसय ३२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, राइजिङ प्लेयर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही दुई हजार पाँचसय रुपियाँ नगदसहित अवार्ड प्रदान गरिने छ । प्रतियोगितामा अनुशासित टिमलाई ट्रफी, प्रमाणपत्र र नगद पाँच हजार रुपियाँ तथा सेमीफाइनमा पुग्ने २ वटा टिमलाई नगद पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
नगरपालिकाका प्रमुख केसीले हरेक वर्ष आयोजना हुने प्रतियोगिताले विद्यालय तहबाटै फुटबल खेलको विकास र खेलाडी उत्पादनमा सहयोग पुगेको बताउनुभयो । बेनीमा खेलकुद, मेला, महोत्सवलगायत कार्यक्रमहरु सञ्चालन हुने एकमात्र खुल्लामञ्चको स्तरवृद्धि गरेर फुटबलमा ११ जना खेल्न सक्ने मञ्च बनाउन लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, एभरेष्ट ग्लोबल एजुकेसन भिसाका बेनी शाखा प्रमुख जगत गैरेलगायतले मन्तव्य राख्नु भएको थियो ।