गुणबहादुर रोका
सुलीकोट, मङ्सिर १७ गते । उत्तरी गोरखाकाे धार्चे गाउँपालिकामा असार, साउन र भदौ महिनामा परेको अत्यधिक अविरल वर्षाका कारण भत्किएका ग्रामीण सडकहरु गाउँपालिकाले धमाधम मर्मत सुरु गरेको छ । झण्डै ३ महिनादेखि सञ्चालनमा आउन नसकेको आरुघाट–लार्केभञ्ज्याङ सडक अन्र्तगतको धार्चे–३ दोभान उहिया सडक धार्चे गाउँपालिकाले मर्मत गर्ने कार्य सुरु गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो।
उत्तरी गोरखाको आरुघाट–लार्केभञ्ज्याङ सडकहरुमा अविरल वर्षाका कारण विभिन्न ठाउँमा ग्रामीण सडकहरु बाढी र पहिरोले सडक खण्डहरुमा ढुङ्गा, माटो र लेदोले सडक नै बगाएपछि सवारी साधनहरु आवतजाबवत नै बन्द हुन पुगेको थियो ।
धार्चे गाउँपालिकाको पहलमा उत्तरी गोरखाबासीको मागलाई सम्बोधन गर्दै गाउँपालिकाले भत्किएका सडकहरुमा खाल्टाखुल्टी मर्मतसम्भार गरी सडक बगाएर लगेको ठाउँमा नयाँ सडक बनाउदै मङ्सिर २५ गतेसम्म सडक सञ्चालनमा ल्याई सवारीसाधनहरु आवतजावतमा सहज बनाइने धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
उहाँका अनुसार यस सडक गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरु जानका लागि सडक बाटो भएर जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको पहलमा सडक बाटो मर्मत गरी सञ्चालनमा ल्याउन लागिएकोे उहाँले बताउनुभयो ।
सडक मर्मत तथा सम्भार भएपछि एक हप्ताभित्रमा सडक सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।