• ११ पुस २०८१, बिहिबार

शुक्लाफाँटा निकुञ्ज

blog

कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई २०७३ फागुन ९ गते राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो । निकुञ्ज रहेको स्थानमा २०२६ सालमा सिकार आरक्षका रूपमा स्थापना गरिएको थियो । २०३२ सालमा १५५ वर्गकिमी क्षेत्रफललाई समेटेर शुक्लाफाँटा वन्यजन्तु आरक्ष बनाइयो । २०३६ सालमा १५० वर्गकिमी थप गरी ३०५ वर्गकिमी क्षेत्रफल बनाइयो । 

यो निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध छ । यहाँ विश्वमै सबैभन्दा ठुला बाह्रसिङ्गाका बथान देख्न सकिन्छ । यो निकुञ्जमा विश्वकै सबैभन्दा ठुलो घाँसे मैदान पनि छ । यहाँ बाह्रसिङ्गा अवलोकन गर्न विश्वभरिबाट पर्यटक आउने गरेका छन् । 

क्षेत्रफलमा सानो भए पनि यहाँ दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन् । नेपालको तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खरमजुर र कृष्णसारको पुनस्र्थापना गरिएको नेपालको पहिलो संरक्षित क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हो ।

स्थानान्तरण गरेर ल्याइएपछि यस निकुञ्जमा १२ वर्षको अवधिमा लोपोन्मुख प्रजातिका कृष्णसारको सङ्ख्या ४२ बाट बढेर ३११ पुगेको छ । यस निकुञ्जमा मौसमी हात्ती ४०/५० को झुन्डमा आउने गर्दछन् भने रैथाने हात्ती चार वटा छन् । 

यस निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४२४ प्रजातिका चरा पाइन्छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधनेस र लेसर भुँडीफोर जस्ता पन्छी पनि शुक्लाफाँटामा पाइन्छ । पाटेबाघ, एकसिङे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा, चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेललगायत स्तनधारी वन्यजन्तु पाइन्छ ।

निकुञ्जले गरेको पछिल्लो गणना अनुसार निकुञ्जमा ४४ वटा बाघ र २३ वटा एकसिङे गैँडा छन् । २०२२ को गणना अनुसार यहाँ दुई हजार ३१२ वटा बाह्रसिङ्गा छन् । निकुञ्जको धेरै भाग सालले ढाकिएको छ । बाँकी सिसौ र खयरको जङ्गल तथा घाँसे मैदान छ । यहाँका तालमा मगर गोही प्रशस्त पाइन्छन् । वन्यजन्तु अवलोकनका लागि यो निकुञ्ज स्वर्ग मानिन्छ । शुक्लाफाँटा निकुञ्जमा ६५.०२ प्रतिशत जङ्गल, १६.१० प्रतिशत घाँसे मैदान, ३.७६ प्रतिशत झाडी तथा बुट्यान, ७.२५ प्रतिशत जलाशय र ७.८७ प्रतिशत कृषि जमिन रहेको छ । यहाँ ६६५ प्रजातिका वनस्पति पाइन्छ । 

निकुञ्जमा रहेको रानीतालको विशेष महìव रहेको छ । सो क्षेत्रमा राज्य गरी बस्ने सिंहपाल राजाले आफ्ना रानीहरूलाई नुहाउनका लागि बनाएको ताल भएकाले यस तालको नाम रानीताल रहन गएको भन्ने किंवदन्ती छ । निकुञ्जको बेलडाँडी पोस्टको पश्चिम किनारमा कालिकिच ताल छ । कालिकिच ताल मगर गोही तथा पानीमा पाइने चराका लागि प्रमुख वासस्थान मानिन्छ । यस तालमा अति दुर्लभ सारस देख्न सकिन्छ भने यस तालमा सात वटासम्म सारस एकै पटक देखिएको छ ।   

   मुना  

Author

प्रमोदकुमार टन्डन