• १७ मंसिर २०८१, सोमबार

यमुना (पौराणिक कथा)

blog

यमराजलाई मृत्युका देवता भनिन्छ । यमराजकी बहिनी यमुना हुन् । यमराज र यमुना जुम्ल्याहा हुन् । एकै पटक एउटै गर्भबाट जन्मेकालाई जुम्ल्याहा भनिन्छ । यमुनालाई कतै कतै यमी नामले चिनिन्छ ।  यिनलाई कालिन्दी पनि भन्ने गरेको पाइन्छ । यिनका बाबु सूर्य हुन् । यिनीको आमा सम्झना हुन् ।

धार्मिक ग्रन्थ श्रीमद्भागवतको छैटौँ स्कन्धको तृतीय अध्यायमा यमराजसँग सम्बन्धित प्रसङ्ग छन् । आफ्नो दाजु साथमा नहुँदा यमुनाले साह्रै दुःख मानिन् । त्यस्तो दुःखमा उनी खुब रोइन् । त्यही आँसुबाट भारतको यमुना नदी बनेको विश्वास गरिन्छ । यमुनाले अश्विनी कुमारलाई आफ्नो सन्देश यमराजसम्म पु¥याइदिन आग्रह गरिन् । त्यसपछि पनि यमराज नआएपछि उनले अश्विनी कुमारले नै सन्देश नदिएका हुन् कि भन्ने शङ्का गरिन् । 

अश्विनी कुमारले यमुनालाई यमराज आउने कुरा सुनाए । यमलोकमा मरेका प्राणीसँग व्यवहार गर्दा गर्दा यमराज ज्यादै क्रूर स्वभावका भइसकेका थिए । अश्विनी कुमारले भगवान् श्रीहरिको कृपाबाट पाएको दिव्य अमृत पिलाएर यमराजको हृदयमा दया र करुणाको जागृत गराइदिएका थिए । 

यमराज आफ्नो लोकमा बेफुर्सदी थिए । त्यसैले यमुनाले दाजु यमराजले आफूलाई माया नगरेको भनेर रुन्थिन् । यस्तै बेला यमुनाले नदीमा विलीन हुने इच्छा गरेको कुरा यमराजले थाहा पाउँछन् । त्यसपछि यमराज बहिनीसँग माफी माग्दै आइपुग्छन् । लामो समयसम्म आफू आउन नसकेकोमा दुःखी हुँदै बहिनीलाई केही माग्न भन्छन् । त्यसबेला यमुनाले दाजुलाई भोजन बनाएर खुवाउने इच्छा भएको सुनाउँछिन् । यमुनाले यमराजलाई भोजन गराउँछिन् । यमराजले मिठो मानेर भोजन खान्छन् । यसरी भोजन गराएर भाइबहिनीको बिचमा नयाँ खालको मायाको सम्बन्ध बनाएकाले यमराज यमुनालाई वरदान माग्न लगाउँछन् । 

यमुनाले दाइलाई भन्छिन्, “तपाईं साँच्चै प्रशन्न हुनु भएको भए मलाई यस्तो वरदान दिनुहोस् कि संसारका समस्त भाइबहिनी सुखमा रहुन् ।” यमुनाले यमराजलाई त्यसरी भोजन गराएको दिन कार्तिक शुक्ल द्वितीया हुन्छ । त्यही तिथिलाई यमद्वितीयाको नामले प्रसिद्ध होओस् भनी वर माग्छिन् । यमराजले ‘तथास्तु’ भनी वरदान दिन्छन् । त्यसपछि कार्तिक शुक्ल द्वितीयालाई यमद्वितीयाको नामले लोकमा चिनिन्छ । यमुनाले अर्को पनि वर माग्छिन्– जुन भाइले यमद्वितीयाको दिन आफ्नी बहिनीको घरमा भोजन गर्न आउँछ उसको सबै कष्ट नाश होओस्, ऊ सुखमा रमिरहन पाओस् । बहिनीको यो मागलाई पनि यमराजले ‘तथास्तु’  भनी वरदान दिन्छन् । त्यति मात्र होइन, यमराजले भने– “जो भाइ आजका दिन भोजन गरेपछि बहिनीलाई वस्त्र आभूषण उपहार दिन्छ उसलाई यमराजका प्रशन्नताका कारण सपनामा पनि अकाल मृत्युको डर रहँदैन ।” 

‘बहिनी नहुनेहरूले यो वरदानको फाइदा कसरी लिने नि ?’ यमुनाले यमराजसँग यस्तो प्रश्न गरेपछि यमराजले दिदीको घरमा जाने, दिदी पनि नभए सौतेनी बहिनीको घर जाने कुरा सुनाउँछन् । सौतेनी बहिनी पनि नभए के गर्ने नि भनी यमुनाले सोधिन् । कुनै पनि स्त्रीलाई मन, वचन र कर्मले आफ्नी बहिनी मानेर उनको घर जानु पर्छ । उनको घर गएर भोजन गर्नु पर्छ र उपहार दिनु पर्छ । कुनै पनि स्त्रीलाई बहिनी, दिदी बनाउन नपाए कुनै गाईलाई बहिनी मान्ने, उसको दुधलाई भोजन मानेर ग्रहण गर्न यमराजले सम्झाए । गाई पनि नपाए कुनै नदीको जल भोजनका रूपमा लिने बताए । यति भनेपछि यमुना यमराजसँग खुसी भइन् । यमद्वितीयालाई उपेक्षा गर्ने कुनै पनि पुरुषले जीवनमा दुःखकष्ट झेल्नुपर्ने कुरा पनि यमराजले बहिनीसँगको संवादका क्रममा सुनाए । यमुनाले लगाएको दाजुभाइ र दिदीबहिनीबिचको स्नेहको डोरो आजसम्म पनि उत्तिको बलियो बनेर समाजमा रहिआएको छ । भाइटीका त्यही सम्बन्धको प्रतीक हो । यसरी यमुना एउटी आदर्श बहिनीका रूपमा लोकमा आज पनि चिनिन्छिन्, पुजिन्छिन् । 

   मुना  

Author

माधव लामिछाने