• १८ मंसिर २०८१, मङ्गलबार

अस्पतालको फोहोर निर्मलीकरण गर्ने मेसिन प्रयोगविहिन

blog

फोहार निर्मलीकरण गर्न खरिद गरेर थन्किएको मेसिन । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, मङ्सिर १४ गते । जिल्ला अस्पताल बैतडीको फोहोर निर्मलीकरण गर्ने एक करोड रुपियाँको अत्याधुनिक मेसिन जडान नहुँदा त्यतिकै थन्किएको छ । मेसिन सञ्चालन गर्ने टहरा र जनशक्ति नभएपछि मेसिन थन्किएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति विभागले गत आर्थिक वर्षमा जिल्ला अस्पताल बैतडीलाई अस्पतालजन्य फोहोर निर्मलीकरण गर्न मेसिन खरिद गरेर पठाएको थियो । मेसिन आए पनि राख्ने टहरा र मेसिन चलाउने जनशक्ति नहुँदा अस्पतलको सव गृहको पछाडि थन्काएर राख्नु परेको जिल्ला असप्ताल बैतडीका प्रमुख डा. सुशील विश्वकर्माले बताउनुभयो । 

अस्पतालबाट दैनिक रुपमा सिरिज्न, निडल, स्लाईनका बोतल, पाइप, शल्यक्रिया गर्दा रगतले लतपतिएका कपडा जस्ता सङ्क्रमण फैलिने फोहोर निस्कने गरेको उहाँले बताउनुभयो । मेसिन जडान हुन नसक्दा फोहोर व्यवस्थापन गर्न चुनौति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खाल्डो खनेर फोहोर व्यवस्थापन गर्दै आईरहेका छौं । यद्यपि स्याल, काग र चिलले ती फोहोर वरिपरि जम्मा भएर खाल्डोबाट फोहोर बाहिर निकाल्ने गरेका छन् । फोहोर निर्मलीकरण गर्ने मेसिन जडान गर्न टहराका लागि बजेट आएको छैन ।” 

जिल्ला अस्पताल बैतडीमा वार्षिक ४० हजार भन्दा बढीले स्वास्थ्य उपचर गराउँदै आईरहेका छन् । विशेषज्ञ चिकित्सकले सेवा दिन थालेपछि जिल्लाका दुर्गम गाउँपालिका र नगरपालिकाबाट सेवाग्राही अस्पताल आउने गरेका छन् । मेलौली नगरपालिका–६, हतरङ्गाबाट आमाको उपचारका लागि जिल्ला अस्पताल आइपुगेका सेवाग्राही चिन्तामणि भट्टले विगतको भन्दा अहिले राम्रो उपचार सेवा पाएको बताउनुभयो । 

जिल्ला अस्पताल बैतडीले विशेषज्ञ चिकित्सकसहित उपचार मात्रै सुरु गरेको छैन, हिंसा पीडित महिलाको मनो सामाजिक परामर्श दिने गरि एकद्वार सङ्कट व्यवस्थापन केन्द्रसमेत सञ्चालनमा ल्याएपछि सेवाग्राहीको चाप बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । 

जिल्ला अस्तालले प्रसुतिको शल्यक्रिया, दन्त सेवा, हड्डी रोग विशेषज्ञ, अक्सिजन प्लान्ट, आपत्कालीजन सेवा, जनरल ओपीडी जस्ता सेवा सुरु गरेपछि बाहिर जिल्लाका बिरामीसमेत आउने गरेको डा. सुशील विश्वकर्माले जानकारी दिनुभयो । उहाँले बिरामीको चाप बढ्ने बितिकै फोहोर पनि बढ्ने भएकाले निर्मलीकरण गर्ने मेसिन सञ्चालन गर्न नसक्दा समस्या भएको बताउनुभयाे ।