• १४ मंसिर २०८१, शुक्रबार

सडक नाटकमार्फत सचेतना फैलाउँदै प्रहरी

blog

स्थानीय तहको सहकार्यमा सचेतनामूलक सडक नाटक प्रदर्शन । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, मङ्सिर १४ गते । 
यहाँ प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा हुने लागूऔषध दुर्व्यसनी, हिंसा, अपराध, बालबिवाह तथा अन्धविश्वास न्यूनीकरण गर्न जनचेतनामूलक सडक नाटक सञ्चालन गरेको हो । नाटकका माध्यामबाट लागूपदार्थ दुर्व्यसनीले परिवारमा ल्याउने विनाश, लैङ्गिक हिंसाबाट पीडितको जीवनमा पर्ने प्रभाव र सामाजिक कुरीतिले समाजलाई पछाडि धकेल्ने यथार्थलाई उजागर गरिएको छ ।

स्थानीय सरकारसँगको सहकार्यमा समुदायस्तरमै पुगेर जनचेतना, सकारात्मक सोच र व्यवहार निर्माणका लागि सडक नाटक प्रदर्शन गरिएको हो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला हिंसा, दुर्व्यसनी न्यूनीकरण गर्न जनचेतामूलक नाटक प्रदर्शन गरिएको प्रहरीको भनाइ छ ।


यहाँ रहेका १० स्थानीय तहका केन्द्र, व्यापारिक केन्द्र, विद्यालयमा हुँदै समुदायस्तरमै नाटक प्रदर्शन गरिने छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपीरक्षक केशरकुमार न्यौपानले शान्ति सुरक्षा कायम गर्न र अराधिक क्रियाकलाप रोक्न सडक नाटक प्रदर्शनी  थालिएको बताउनुभयो ।

उहाँका अनुसार प्रहरीमा आइपुगेका विभिन्न घटनाको विश्लेषण गर्दा बालबालिकालाई सचेत बनाउन सकिए धेरै अपराध न्यूनीकरण हुने देखियो । प्रहरी प्रमुख न्यौपानलेले भन्नुभयो, ‘‘खुला स्थानमा सडक नाटक देखाउँदा के भइरहेको छ भनेर धेरै सर्वसाधारण जमघट हुन्छन्, नाटक हेर्छन् र मनोरञ्जन मात्र नभई धेरै कुरा सिक्ने अवसर पाउँछन् ।’’

सल्यानमा गत वर्ष अपराध तथा हिंसासम्बन्धी ८६ घटना भएका र चालु आर्थिक वर्षको चार महिनामा १६ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । 

पछिल्लो समय घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक भइरहेको अवस्थामा न्यूनीकरण लागि नाटक प्रदर्शनीले सकारात्मक सन्देश दिएको छ ।


स्थानीयहरूले नाटकले लागूपदार्थ दुर्व्यवहार, लैङ्गिक हिंसा, र बाल विवाहजस्ता सामाजिक कुरीतिहरू विरुद्ध समाजमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएका छन् । कार्यक्रमले सबैलाई सोच्न र समाज सुधारमा लाग्न शिक्षा प्रदान गरेकोछ । शारदा नगरपालिका ३ मा रहेको एम.एम एकेडेमी का छात्रा सरिस्मा पौडेलले नाटकले धेरै महत्त्वपूर्ण सन्देश दिएको र यसले आफूलाई व्यावहारिक रूपमा ज्ञान प्रदान गरेको बताउनुभयो ।

शारदा नगरपालिका २ का मनोज सिंहले सडक नाटकले विद्यार्थीलाई पाठ्यपुस्तक बाहिरका व्यावहारिक शिक्षा सिक्न सहयोग गर्ने भएकाले विद्यालय स्तरमै यस्ता सचेतनामूलक गतिविधि गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कलाकार अभिलाषा सिंहले नाटकले समाजका समस्याहरू नजिकबाट देख्ने र बुझ्ने अवसर दिएको बताउनुभयो ।