• २१ पुस २०८१, आइतबार

रोजगारी नहुँदा रित्तिँदै गाउँबस्ती

blog

युवाविहीन बनेको छायानाथको माथितुम गाउँ । तस्बिर : हरिकृष्ण ऐडी

मुगु समाचारदाता

मुगु, मङ्सिर १४ गते । मुगुका चार वटै पालिकाका अधिकांश गाउँबस्ती खाली हुँदै गएका छन् । जिल्लामा रोजगारीका अवसर नभएपछि यहाँका युवायुवती रोजगारीका लागि धमाधम भारत जान थालेपछि गाउँबस्ती खाली हुँदै गएका हुन् ।

छायानाथ रारा नगरपालिका–७ का स्थानीय लालबहादुर नेपालीका अनुसार दसैँतिहारलगायतका चाडपर्व सकिएपछि यहाँका युवा रोजगारीका लागि धमाधम छिमेकी देश भारत जान थालेका छन् । जसका कारणले अहिले यहाँका गाउँबस्ती खाली हुँदै गएका छन् । उहाँले भन्नुभयो, “जिल्लामा केही रोजगारी मिल्दैन । घरपरिवारको खर्चको जोहो गर्नलाई छिमेकी जिल्ला भारत जानु परेको छ ।” यहाँका नागरिक अभियन्ता रूपबहादुर मल्लले जिल्लाका स्थानीय निकायले बेरोजगारसम्बन्धी आर्थिक नीतिको व्यवस्थापन गरे पनि उक्त नीतिले नछोएको उहाँले बताउनुभयो ।

जिल्लाका युवायुवतीलाई छिमेकी जिल्ला भारत जानबाट रोक्नलाई विकासका नाममा प्रयोग हुने डोजरलगायतका मेसिन उपकरण प्रयोग बन्द गर्नुपर्ने उहाँको भनाइ छ । अधिकांश युवा प्रत्येक वर्ष कामको खोजीमा भारत जाने गर्छन् । बेरोजगार युवालाई गाउँमै राख्ने गरी यहाँका स्थानीय निकायले रोजगार दिने योजना अहिलेसम्म नल्याएको सोरु गाउँपालिका–५ का स्थानीय जनकबहादुर रोकायाले बताउनुभयो ।

जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड र मुगुमकार्मारोङ गाउँपालिका गरी चार वटा स्थानीय तहका ग्रामीण बस्तीबाट सयौँ युवा भारत जाने गरेका छन् । भौतिक पूर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख केशव बस्नेतका अनुसार चालु आवमा जिल्लामा १२ वटा सडकका योजना रहेका छन् । उहाँले भन्नुभयो, “श्रमिकबाट योजनाको लागत धेरै आउने भएकाले कम लागतबाट बढी काम गर्न डोजरलगायतका मेसिनको प्रयोग हुँदै आएको छ ।”