• २ माघ २०८१, बुधबार

'हिंसामुक्त समाज निर्माणका लागि हामी सबैको साझा प्रयास आवश्यक छ'

blog

जनकपुरधाममा लैङ्गिक हिंसा अन्त्यका लागि भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेश प्रदेश सरकारका गृह मन्त्री राजकुमार लेखी । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, मङ्सिर १३ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले लैङ्गिक समानतासहित हिंसामुक्त समाज निर्माणका लागि हामी सबैको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ । 

जनकपुरधाममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यू.एन. एफ. पि. ए)को समन्वय तथा सहकार्यमा बिहीबार आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका प्रतिबद्धता कार्यान्वयनको अवस्था तथा मधेश लैङ्गिक समानताको सवालबारे मधेश प्रदेशसभाका सदस्यहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा ,दहेज प्रथा र बालविवाह जस्ता विकृतिहरुले समाज प्रभावित रहेको भन्दै यस्ता विकृति अन्त्यका लागि समाजमा रहने सबै पक्षले आ–आफनो ठाउँवाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले अन्य प्रदेशको तुल्नामा मधेश प्रदेशमा यस्ता विकृतिको अवस्था भयावह रहेको भन्दै एक जनाको प्रयासले अन्त्य गर्न सम्भव नरहेको बताउनुभयो। उहाँले समाजमा हुने गरेको यस्ता विकृतिहरु अन्त्यका लागि प्रहरी प्रशासन र जनप्रतिनिधिको भूमिका महत्वपुर्ण भएको भन्दै समाजमा यस्ता विकृतिहरु भइरहेको देखेपछि सरोकारवाला पक्षहरु एक अर्का सँगको समन्वयमा हुन नदिनका लागि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले लैङ्गिक समानताका लागि निर्माण भएका ऐन कानुनको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा बढदै गएको जनसङ्ख्या अनुरुप नै  विकासको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

नेकपा एमालेका प्रदेशसभा सदस्य शारदादेवी थापाले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि प्रदेश सरकारले नागरिकमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका सचिव चूडामणि फुयालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्यहरु जंगीलाल राय , जिवछीकुमारी यादवसहितले लैङ्गिक हिंसा अन्त्यका लागि हामी सबै एकबद्ध भएर अघि बढनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा यू.एन. एफ. पि. ए का कार्यक्रम अधिकृत समीर घिमिरेले लैङ्गिक समानता,जनसङ्ख्या वृद्धि र त्यसले पार्ने प्रभावको वारेमा र मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम साहले मधेश प्रदेशमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।