गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ८ गते । गोरखापत्रको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएकी मञ्जु सापकोटालाई विदाइ गरिएको छ । नयाँ नेपाल भाषा पृष्ठ संयोजक समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्र, गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी, भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले खादा टीका लगाएर उहाँलाई विदाइ गर्नुभयो ।
सो अवसरमा प्रधान सम्पादक भट्टराईले गोरखापत्रमा लामो समयदेखि कार्यरत रहनुभएकी सापकोटाको योगदानको स्मरण गर्नुहुँदै धन्यवाद व्यक्त गर्नुभयो । आउने दिन पनि उहाँको सुखद रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
सोहीअनुसार नयाँ नेपालका संयोजक मिश्र, भाषा आयोगका सदस्य मानन्धरले पनि गोरखापत्रमा रहेर गर्नुभएको योगदानको प्रसंशा गर्दै उहाँको भावी जीवन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
वदाइको अवसरमा मञ्जु सापकोटाले आफू २०४६ भदौ ५ गतेबाट चौथो तह टाइपिष्टबाट सेवा प्रवेश गरी ३५ वर्ष ३ महिना गोरखापत्रमा काम गरेको र सो अवधि निकै सुखद र स्मरणीय भएको बताउनुभयो । गोरखापत्रको सेवा अवधिमा रहेसम्म आफूले सबैबाट सहयोग प्राप्त गरेको उहाँले चर्चा गर्नुभयो । आफूलाई विदाइ गर्नुभएकोमा उहाँले नयाँ नेपाल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गोरखापत्र भाषा पृष्ठ संयोजक समितिका अध्यक्ष अब्दुल सलामले गोरखापत्रमा भाषाभाषिले स्थान पाउनु राम्रो अवसर भएको भन्दै यसलाई अझ परिस्कृत गरेर अघि बढ्नुपर्ने बताउनुभयो । गोरखापत्रमा अहिले ४४ भाषा पृष्ठहरु प्रकाशित हुँदैआएको छ । सो अवसरमा सापकोटालाई प्रसंशापत्र पनि प्रदान गरिएको थियो । सेवा अवधि बाँकी रहँदै सापकोटाले मंसिर ७ गतेदेखि लागू हुनेगरी पदबाट राजिनामा दिनुभएको थियो ।