अनिल पराजुली
हेटौँडा, मङ्सिर ८ गते । आदिवासी र अल्पसङ्ख्यक चेपाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिका –७, विकट तल्लो गर्लिङमा करिब दुई करोड रुपियाँ खर्चिएर विद्यालय भवन निर्माण सुरु भएको छ ।
गर्लिङमा रहेको सातकन्या प्राथमिक विद्यालयको सात कोठे भवनको शुक्रवार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले शिलान्यास गर्नुभयो । विद्यालय भवन शिलान्यास गर्नुहुँदै बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले विकट गाउँमा सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधार विकास र सामाजिक आर्थिक विकासमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिएको बताउनुभयो ।
सङ्घीयता स्थापनासँगै मुलुकको विकासको गति बढिरहेको बताउँदै उहाँले वर्तमान व्यवस्थाविरुद्ध लाग्नेहरू विकास विरोधी भएको स्पष्ट पार्नुभयो । राक्सिराङ –७ स्थित गर्लिङसम्म पुग्ने सडक स्तरीकरण गर्न प्रदेश सरकारमार्फत बजेटको व्यवस्था गर्न पहल गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
लिसा हिमालय इभीमार्फत दिगो विकासका लागि एकता नेपालको आर्थिक सहयोगमा दुई करोड एकलाख रुपियाँको ठेक्कामार्फत विद्यालय भवन निर्माण हुन लागेको हो । गृह आर्किटेक एण्ड बिल्डर्स प्रालिसँग २०८१ कात्तिक २० गते विद्यालय निर्माणको सम्झौता भएकोमा २०८२ कात्तिक १८ गतेसम्म सम्पन्न गर्ने उल्लेख छ ।
पक्की विद्यालय भवन नहुँदा यस भेगका विद्यार्थीजस्ताको छानोयुक्त कच्ची भवनमा अध्ययन गर्दै आएका थिए । पक्की भवन निर्माण भएसँगै अध्ययनमा सहज हुने र विद्यार्थी पनि विद्यालयतिर आकर्षित हुने विश्वास लिइएको छ ।
सातकन्या प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज मुक्तानको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, दातृ संस्था लिसा हिमालय इभीका एक्टिङ कन्ट्री डाइरेक्टर अन्जन पौडेल, नेपाली कांग्रेस मनहरि सभापति प्रकाश बर्तौला, राक्सिराङ ७ का वडाध्यक्ष रामबहादुर प्रजालगायतले शिक्षाको विकाससँगै बिस्तारै सबै विकास पनि हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।