• १२ पुस २०८१, शुक्रबार

थ्रीबाइथ्री स्ट्रीट विश्व च्याम्पियनसिप खेल्दै सरस्वती क्लब

blog

काठमाडौँ, मङ्सिर  ८ गते । सरस्वती यूथ क्लबले थ्रीबाइथ्री स्ट्रीट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । 

‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्वीन्डहोमा यही मङ्सिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो । 

विश्व फुटबल महासङ्घ (फिफा) अन्तर्गत आईएसएफएले सञ्चालन गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ । 

चीन जाने टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, प्रदेश सभासद् सुनिल केसी, क्लबका पूर्व अध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गर्नुभयो । 

सात सदस्यीय नेपाली टोली आइतबार चीन प्रस्थान गर्नेछ । टोलीको खेलाडीमा दिपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांसु शर्मा हुनुहुन्छ । प्रशिक्षकमा अशिम अर्याल र व्यवस्थापकमा विकल्प खरेल हुनुहुन्छ । 

उपाधि जित्ने लक्ष्यका साथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक अशिम अर्यालले जानकारी दिनुभयो । ‘‘स्ट्रीट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दाबेदार हौँ । राम्रो तयारी गरेकोले उपाधि जितेर फर्कने लक्ष्य राखेका छौँ’’, अर्यालले भन्नुभयो । प्रशिक्षक अर्यालकाअनुसार फुटसल भन्दा सानो कोर्टमा खेलिने थ्रीबाइथ्री फुटबल आठ मिनेटको हुनेछ । 

खेलाडीलाई शुभकामना दिँदै सरस्वती क्लबका अध्यक्ष भण्डारीले क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको बताउनुभयो । उहाँले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै क्लब र देशको नाम राखेर फर्कन सुझाव पनि दिनुभयो ।