• १२ पुस २०८१, शुक्रबार

राउटेलाई आर्थिक सहयोग

blog

राउटे शेरबहादुर शाहीलाई आर्थिक सहयोग गरिँदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर ८ गते । स्याङ्जा सदरमुकाम पुतलीबजारमा राउटे समुदायको टोलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राउटे समुदायले मनाउने वडा तिहारका लागि खर्च जोहो गर्दै स्याङ्जा आइपुगेको मुखिया शेरबहादुर शाहीको टोलीलाई यहाँका कार्यालय र व्यक्तिले सहयोग गरेका हुन् । 

परम्परागत काठका सामग्रीहरू बेचेर जीवन धान्ने समुदाय अहिले पेसा सङ्कटमा परेपछि विभिन्न स्थानमा पुगेर खर्च जुटाउन सुर्खेतबाट आएको मुखिया शाहीले बतााउनुभयाे । 

जीविकोपार्जन गर्न समस्या रहेको आफ्नो दुःखेसो पोख्दै शाहीले हरेक वर्षजस्तै यस वर्ष पनि चाडपर्व मनाउन सहयोग सङ्कलन गरिरहेको बताउनुभयो । राउटे समुदायले मनाउने वडा तिहारका लागि खर्च जोहो गर्दै स्याङ्जा आइपुगेको मुखिया शेरबहादुर शाहीको टोलीलाई पुतली बजार नगरपालिकाले र स्थानीय व्यवसायी पार्वती गुरुङले पाँच–पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्नुभयो ।  

यस्तै, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले पाँच हजार रुपियाँ प्रदान गर्नुभयो । जिल्ला प्रहरी कार्यालय र रेडक्रस सोसाइटी स्याङ्जाले तथा विभिन्न व्यक्तिहरूले पनि सहयोग गर्नु भएको छ ।  

प्राप्त सहयोग रकमबाट राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गरिने शाहीले बताउनुभयो । नेपालको लोपोन्मुख आदिवासी समुदायमा राउटे सुर्खेतमा ४६ घरधुरी रहेको उहाँले बताउनुभयो ।