• १२ पुस २०८१, शुक्रबार

धमाधम निर्माण हुँदै छ बुटवलको मुख्य सडक

blog

सडक निर्माणको काम हुँदै । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर ८ गते । बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ । विगत ८ वर्षदेखि अलपत्र रहेको सो सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले सडक निर्माणको काम गरिरहेको छ ।

साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्नका लागि भ्याटसहित ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । बुटवल बेलियादेखि चिडिया खोलासम्म पर्ने ६ लेन सडक अहिले भैरहवादेखि बुटवल चौराहासम्म निर्माण सम्पन्न भइसकेको छ ।

बावुल दर्शन मालिका जेभी भैरहवाका प्रतिनिधि नपिस अहमद खानले सडक निर्माणको काम राति र दिउँसो दुई सिफ्टमा गरिरहेको बताउनुभयो । साथै उहाँले जनशक्ति थप गरी एक वर्षभित्रै काम सक्नेगरी तीव्र गतिमा निर्माण भइरहेको बताउनुभयो । चौराहाबाट मिलन चोकसम्म खानेपानी पाइपका कारण सात स्थानमा केही असहज भइरहेको उहाँले बताउनुभयो । 

‘अहिले हामीले इलाका प्रशासन कार्यालयनजिकबाट निर्माणको काम सुरु गरेका छौँ । जनशक्ति थप गरेर दिउँसो र राति गरी दुई चरणमा काम गरी तोकिएको समय सीमाभित्र सडक निर्माणको काम सम्पन्न गर्नेछौँ’ उहाँले भन्नुभयो ।

ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बताउनुभयो । 


फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने सूचना अधिकारी लम्सालले बताउनुभयो । बुटवललाई आकर्षक सहर बनाउन उपमहानगरले योजनाबद्ध काम गरिरहेको र यो सडक निर्माण सकिएपछि बुटवल आकर्षणको केन्द्र बन्ने बुटवल नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले भन्नुभयो, ‘सडक निर्माण गर्दा बुटवल उपमहानगरपालिकाले निर्माण कम्पनी र सडक डिभिजनलाई आवश्यक पर्ने सबै प्रकारको सहजीकरण गर्छ, हामी अनुगमन पनि गर्छौँ ।’ सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख जिबेन्द्र मिश्राले बताउनुभयो ।

कञ्चनजङ्घा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत १७ गते २०७६ सम्ममा सडक विस्तार सक्नेगरी ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।