• ८ मंसिर २०८१, शनिबार

पर्यटक लोभ्याउँदै बत्तीसे झर्ना (तस्बिर सहित)

blog

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ मा रहेको बत्तीसे झर्ना । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, मङ्सिर ८ गते । मेची राजमार्गको इलाम–फिदिम सडक खण्डनजिक पाँचथरको फाल्गुनन्द गाउँपालिका –३ मा बत्तीसे झर्ना रहेको छ । यो झर्ना जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । 

बायाँ पट्टी ३२ मिटर लामो प्राकृतिक झर्ना, दाहिने पट्टी सङ्लो पानी आसपासमा आकर्षक भौतिक संरचनाले आगन्तुकको मन लोभ्याउँछ । मेची राजमार्गस्थित इलाम फिदिम सडक खण्डमा पर्ने निबु खोलादेखि १० मिनेटको पैदलयात्रामा पुगिने यो झर्नाको उचाइ ३२ मिटर रहेकाले सोही आधारमा नाम पनि बत्तिसे राखिएको हो । 

झर्ना आसपास चिसो बतास चलिरहने भएकाले यदाकता यसलाई बतासे नामले पनि पुकारिने स्थानीय नन्दराम रामईले बताउनुभयो । बाह्रैमास एकनासले खसिरहने झर्नाको दृश्यले त जोकोहीलाई आकर्षित गर्छ । दाहिने भागमा बगेको यो पानीले झन् पुलकित बनाउँछ । यहाँ आउने पर्यटकहरू घण्टौँसम्म फोटो भिडियो खिच्ने र टिकटक बनाउन व्यस्त हुन्छन् । 

प्रकृतिको मनोरम दृश्यमा रमाइसकेपछि नजिकै रहेको बत्तिसे रिसोर्टमा रहेका वन्यजन्तु र चराचुरुङ्गीको पनि अवलोकन गर्न पाइन्छ । रिसोर्टमा ७ वटै महादेशका विभिन्न मुलुकमा पाइने चराचुरुङ्गीसँगै रैथाने वन्यजन्तु संरक्षण गरिएको छ ।