सिराज खान
नेपालगन्ज, मंसिर ८ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि पक्की घर निर्माण सुरु गरिएपछि त्यस्ता समुदायका नागरिकले नयाँ घर पाउने भएका छन् ।
विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत लक्षित समुदायको छनौट गरी उनीहरूलाई नयाँ घर बनाइदिन सुरु गरेको हो । आर्थिक रूपले विपन्न समुदायका परिवारलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।
उहाँले घर नभएर अरूको घरमा बस्नु पर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा (भित्ता) भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले ५२ वटा घर बनाइदिन थालेको बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिका वडा ८ धरमोतीकी गङ्गा विकको परिवारका लागि नयाँ घर निर्माणको शिलान्यास गर्दै अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको बताउनुभयो ।
उहाँले संविधानप्रदत आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको जनाउँदै चालु आर्थिक वर्षमा गङ्गा विकलाईजस्तै ५२ परिवारलाई गाउँपालिकाले घर बनाइदिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदैछौं । यो हाम्रो आफ्नै कार्यक्रम हो, तर यसमा केन्द्र सरकारको पनि सहयोग छ ।’
विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको पालिकाले जनाएको छ । नयाँ घर पाउनेहरूमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरू रहेको गाउँपालिकाका उपाध्यक्ष मनीषासिंह थारुले बताउनुभयो ।
उहाँले घरहरू गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन दिनुभएको छ । गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताउनुभयो । उहाँले विशेष अनुदानको २ करोड ८० लाखको लागतमा घरहरू निर्माण गरिने बताउनुभयो ।
एउटा घरको लागत ५ लाख ३७ हजार ५५५ रुपियाँ रहेको जनाइएको छ । त्यसमा ब्रण्डा, दुईवटा पक्की कोठा र छानोजस्ता पाताको हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ ।
आगामी जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी भवरभवानी निर्माण सेवा र सौगात कन्स्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएका छन् । भवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा ३, ४, ५, ६ र ७ मा ३१ वटा र भवरभवानीले वडा नं. १, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता गरिएको छ ।
भवरभवानी निर्माण सेवाका सञ्चालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरू निर्माण गरेर हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकासँग भएको सम्झौताअनुसार निर्माण सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गर्ने र गुणस्तरीयतामा कुनै सम्झौता नहुने बताउनुभयो ।