• १२ पुस २०८१, शुक्रबार

कावासोतीको माटोमा ९० प्रतिशत अम्लीयपना

blog

कावासोती नगरपालिकामा घुम्ति शिविरमा माटोको परीक्षण गरिँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, मङ्सिर ७ गते । नवलपुरमा खेतीयोग्य जमिनको माटोमा उर्वराशक्ति घट्दै गएको छ । खेतबारीमा रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोग हुने भएको उर्वरा र उत्पादनशक्ति घट्दै गएको हो । 

खेतीयोग्य माटोका लागि नभइ नहुने पोषक तत्व मध्ये क्षयीय, नाइट्रोजन, प्रांगारिक पदार्थ र फस्फोरसको मात्रा कम देखिएको छ भने मोटोमा अम्लीयपना धेरै देखिएको छ ।

जिल्लाको कावासोती नगरपालिकाका १७ वटै वडामा गरिएको माटो परिक्षणमा ९० प्रतिशत अम्लीयपना देखा परेको गण्डकी प्रदेश प्रयोगशालाका प्राविधिक खुवराज बरालले बताउनु भयो । उहाँले भन्नुभयो, “उत्पादन छिटो र धेरै लिन रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिए पनि माटोको गुणस्तरमा असर पु¥याएको छ ।  दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ, प्रत्येक ३÷३ वर्षमा कृषि चुन प्रयोग गर्नुपर्छ।” अझैपनि किसानलाई विषादीको मात्रा कति राख्ने भन्ने बारेमा जानकारी नभएको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिकामा दुई वर्षअघि पनि माटो परीक्षण गरिएको कावासोती कृषि शाखा प्रमुख शिव नारायण कुमालले बताउनुभयो । समय समयमा माटो परीक्षण गर्दा उत्पादनमा वृद्धि हुने सचेतना कृषकलाई दिने गरेको उहाँले बताउनुभयो । लामो समयसम्म माटो परीक्षण नगर्ने र एउटै प्रकृतिका खेती गर्ने र विषादीको प्रयोग अत्याधिक हुँदा माटोको उर्वरा शक्ति बिग्रने र उत्पादन घट्ने भएकाले माटो परिक्षण पछि माटोमा देखिएको समस्या समाधान गर्न माटोको उपचार जरुरी रहेको कावासोती कृषि शाखा प्रमुख कुमालले बताउनुभयो । 

कावासोती १६ डण्डाका हुम शर्माले विगत लामो समयदेखि कृषि पेशा अवलम्बन गर्दै  आउनुभएको छ । उहाँले चार कठ्ठा जग्गामा तरकारीखेती र धानखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “माटो परीक्षण गर्नु पर्छ भन्ने पहिला थाहा थिएन । उत्पादन घट्दै जाँदा चिन्तित थिए । तर दुई वर्ष अघि माटो परीक्षण गर्नुपर्छ भन्ने जानकारी प्राप्त भएपछि परीक्षण गराएको हो ।” किसानले जग्गाको माटोको अवस्था के छ, कुन क्षेत्रको माटोमा के उत्पादन हुन्छ र माटोको उर्वराशक्ति बढाउन के गर्नुपर्छ भनेर योजना बनाउन थालेको शर्मा बताउनुहुन्छ ।

एउटै किसिमका मात्र बाली पटकपटक लगाउँदा पनि माटो रुखिने कार्यालयको भनाइ छ । बाली चक्र अपनाएर फेरी–फेरी खेती गर्ने र कोसेबालीको खेती बढाउँदा पनि माटोको उर्वराशक्ति बढाउन सकिने बरालको भनाइ छ । किसानमा रासायनिक मल र विषादीको प्रयोगबारे ज्ञान नहुँदा पनि माटोको उर्वराशक्ति घटेको हुदा यसप्रति ध्यान दिन उहाँको सुझाव छ । कावासोती नगरपालिका करिव तीन सय कृषकका माटो परीक्षण गरिएको छ ।